माघ २५ काठमाण्डौं । नेप्से परिसूचक हाल सम्मकै उचाईमा पुगेको छ । आज एकै दिन ४८.७४ अंकले वृद्धि भएर नेप्से २५२४ अंकमा पुगेको छ ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४८.७४ अंक अर्थात १.९७ प्रतिशत बढेर २५२४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। यस अघि नेप्से गत बिहीबार अर्थात माघ २२ गते २४७५.२६ विन्दुमा रहेको थियो।
यस दिन २०२ कम्पनीको ८७ हजार ६७० पटकको कारोबारमा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर खरिदबिक्री भएको छ। यो हालसम्मकै उच्च भोल्युम हो।
नेप्से सूचकले नयाँ उचाइ कायम गर्दा लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ७.७६ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५३ करोड १७ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ र शिखर इन्स्योरेन्सको ३० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
यस दिन कारोबारमा आएका करिब ३ दर्जन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ६.२७ प्रतिशत घटेको छ।