माघ २३ काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीको संसद विघटन गरेपछि त्यसको बिरुद्ध भईरहेका आन्दोलनलाई काउन्टर दिन ओली समुहले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । १२ बजे पछि शुरु हुने भनिएको सभाका लागि बिहान ९ बजेदेखि नै बजेदेखि नै विभिन्न नाकाबाट यातायातका साधन रत्नपार्क, पुरनो बसपार्क क्षेत्रमा जान रोक लगाउँदा सर्वसाधारण यात्रुले सास्ती ब्यहोर्नुपरेको छ ।
अहिले नारायणहिटी अगाडी हुने सभाका लागि सो क्षेत्र नियन्त्रित छ भने विभिन्न १६ स्थानबाट र्याली शुरु भएका छन् । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको छ । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत हुनेछन् ।
करीब तीन लाख मान्छे उतार्ने सो समुहको लक्ष्य छ । यसका लागि उपत्यका बाहिरका जिल्लाबाट गाडीहरुमा मान्छे ओसारीएको छ ।
सभालाई प्रधानमन्त्री ओली सहितका नेताहरुले संवधोन गर्नेछन् ।