नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा रहेको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै उहाँले संसदमा विश्वासको मत लिने आँट नगर्ने ओली ज्ञानेन्द्र पथमा रहेको बताए ।
नेता सिंहले आम नेपाली जनताले सडकबाट दबाव दिएपछि ओलीको होस खुल्ने बताउँदै , ‘ज्ञानेन्द्र ले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ ।’ राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिलेको ओलीको कदमलाई पनि सच्याउने विश्वास व्यक्त गरे ।
ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावना विपरित संविधान कुल्चेर संसद विघटन गरेको नेता सिंहको दावी छ । उनले ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण बताउँदै यसले लोकतन्त्रमाथि प्रहार भएको बताए ।
संविधान मिचेर निर्वाचनको ललिपप देखाएको आरोप लगाउँदै नेता सिंहले भएको संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिड्न गतल भएको बताए । प्रतिनिधिसभा सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको बहाना रचेको उनको भनाइ छ । ओलीले आफू तानाशाह बन्नका लागि प्रतिनिधिसभा भङ्ग गरेको उनको जिकिर छ ।
संविधानको विशेषता शक्ति सन्तुलन भएकाले यसलाई यसलाई सुधार गरी चेक एण्ड ब्यालेन्समा राख्ने काम न्यायपालिकाको भएको नेता सिंहको भनाइ छ ।
