माघ १९ काठमाण्डौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।
लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आईपीओमा छिटोमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ। यस ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।
गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६–७७ मा प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा रहेको यस लघुवित्तले चालु आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७७–७८ मा यस्तो आम्दानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण गरेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ गत आर्थिक वर्ष ३१३ रुपैयाँ १६ पैसा रहेको छ भने चालु आर्थिक वर्षमा २९४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त
श्री महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्ने भएको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री देवराज अधिकारी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण प्रसाद न्यौपानेले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्ष गर्नुभयो ।
उक्त कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचना मार्फत सर्वसाधरण शेयरधनीलाई जानकारी गराईने छ ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।