माघ १८ काठमाडौं। यस अघि सम्म निरन्तर उकालो लागेको शेयर बजार आज ह्वात्तै घटेको छ । आइतबार सेयर बजारमा करिब ५५ अंकको पहिरो गएको छ। नेप्से सूचक गत साताको अन्तिम कारोबार दिन बिहीबारको भन्दा ५४.७५ अंकले घटेर २३७० विन्दुमा ओर्लिएको छ।
आज कारोबार भएका २०६ कम्पनीमध्ये १० वटाको मात्रै सेयर मूल्य बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित भए पछि त्यसको प्रभाव बजारमा परेको आंकलन गरिएको छ ।
संस्थागत लगानीकर्ताहरुले नाफा बुक गर्न आफूसँग भएको सेयर ठूलो संख्यामा बिक्री गरेकाले पनि बजार केही तल ओर्लिएको विज्ञहरुको अनुमान छ । यो सामान्य करेक्सन नै भएकाले लगानीकर्ताहरु आत्तिनु नपर्ने उनीहरुको सुझाव छ ।
आइतबार सबै उपसूचक रातो भएकामा सबैभन्दा धेरै जीवन बीमा समूह ४६०, निर्जीवन बीमा समूह २६४, उत्पादन समूह १३२ र लघुवित्त समूह १२१ अंकले घटेका छन्।
त्यसैगरि विकास बैंक ५१, फाइनान्स ५० र बैंकिङ समूह ४२ अंकले घटेका छन्। सबैभन्दा कम घट्नेमा होटल समूह १९ अंक र ट्रेडिङ समूह २३ अंकले ऋणात्मक रहेका छन् ।
सर्वाधिक कारोबार हुने कम्पनीमा भने नेपाल लाइफकै अग्रता देखिएको छ। कम्पनीको करिब ४३ करोड रुपैयाँको कारोबार हुँदा शिखर इन्स्योरेन्सको ३४ करोड, प्रभु लाइफको ३१ करोड, एनआइसी एसिया बैंक र एनटिसीको ३०र३० करोड रहेको छ । नेशनल लाइफको पनि २७ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
त्यस्तै संख्याका हिसाबले सर्वाधिक सेयर कारोबार सेन्चुरी कमर्सियल बैंकको ७ लाख ६० हजार कित्ता कारोबार हुँदा प्रभु बैंक र सिभिल बैंकको ५–५ लाख कित्ता किनबेच भएका छन्।
आइतबार २०६ कम्पनीको ८ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक करोड ६२ लाख कित्ता सेयर किनबेच भएका छन्।