माघ ८ काठमाण्डौं । शेयर बजारमा निरन्तर नयाँ रेकर्ड कायम हुँदै गएको छ । पछिल्लो समय बुलिस प्रवृतिमा अघि बढिरहेको शेयर बजारमा यो साताको अन्तिम कारोबार दिनमा पनि नेप्से ३१.८७ प्रतिशतले बृद्धि भएको छ । यो सगैँ २३७४.६४ विन्दुमा पुगेको नेप्सेले २४ सय अंक छुन सक्ने अनुमान गर्न थालिएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०९ कम्पनीको ६९ हजार ३३३ पटकको कारोबारमा ७ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ८१ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन नेप्से नयाँ उचाइमा पुगेसँगै १३६ कम्पनीहरुको शेयरमूल्य बढ्दा २० कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, महिला सहयात्रा लघुवित्त, ग्रामिण विकास लघुवित्त लगायतका कम्पनीहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्। यस दिन शेयरमूल्य घटेका २८ कम्पनीहरुमध्ये नारायणी डेभलपमेन्ट बैंकको सर्वाधिक ६.७० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ५३ करोड ३३ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।