माघ ७ विराटनगर । प्रचण्ड माधव र ओली समुहबीच संभावित मुठभेडको स्थिति देखिएपछि प्रदेश १ को प्रदेश सभाको बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ ।
२ मिनेट बैठक बसे लगत्तै सभामुख प्रदीप भण्डारीले स्थगित गरेका थिए । प्रदेश प्रमुख सोमनाथ प्यासीले संसदको अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाउनासाथ बैठक स्थगित गरिएको थियो ।
बुधबारको बैठकमा मुख्यमन्त्री शेरधन राईको समूहले नेकपा दाहाल–नेपाल समूहलाई प्रवेश गर्न नदिने तयारी गरेको थियो । नेकपा संसदीय दल नेतासमेत रहेका राईले संसदीय दलको गतिविधिमा तीन महिनाका लागि निलम्बन गरेका १६ सांसदलाई प्रदेशसभामा प्रवेश गराइए बैठक चल्न नदिने उक्त समूहले जनाउँदै आएको थियो ।
दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी राईले निलम्बन गरेका थिए ।
दाहाल–नेपाल समूहले भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई निर्वाचित गरेको छ । आचार्यले मुख्यमन्त्री राईसहित आठ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी तीन महिना निलम्बन पनि गरेका छन् ।
यीनै दुई समुहको आक्रामक गतिविधिका कारण सभामुखले बैठक रोकेको अनुमान गरिएको छ ।
दुबै पक्षले कुर्सी भाँच्न सक्ने भन्दै सचिवालयले यस अघि कुर्सी वेल्डिङ गराएको थियो ।