माघ ६ काठमाण्डौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन । आज पनि एनआईबिएल एस क्यापिटल र बैंकहरुमा शेयर भर्नेको भीडभाड देखिन्छ । आज बैकिङ समय भित्र आवेदन दिईसक्नु पर्ने छ । माघ २ गतेबाट खुलेको यो आईपिओमा ऐतिहासिक रेकर्ड कायम गर्दे हिजो सम्ममै १४ अर्ब रुपैयाँ भन्दा बढीको शेयर आवेदन परेको छ । यो भनेको माग भन्दा निकै बढी हो । सोमबार ५ बजे सम्ममा ११ लाख ७७ हजार ९२० वटा आबेदनबाट सो बराबरको शेयर माग भएको हो ।
बैंकको आईपीओमा १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता अर्थात १४ अर्ब १९ करोड ९६ लाख ४२ रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको १।८७ गुणा बढी हुन आउछ ।
बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउनेछन् ।
बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।
बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर पाउने निश्चित छ । आजको आवेदनले कसलाई कति कित्ता शेयर पर्ने भन्ने पुर्वानुमान गर्न सकिने छ । ५० भन्दा बढी पर्ने यस अघि पुर्वानुमान गरिएको थियो ।
इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।
हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।