काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंकले यो वर्ष औसत मूल्यवृद्धि ३ प्रतिशतभन्दा कम देखिएको जनाएको छ । आम उपभोगमा आएको कमीका कारण साउनदेखि मंसिरसम्मको अवधिमा मूल्यवृद्धिको दर नेपाल राष्ट्र बैंकको अनुमानको आधा पनि नभएको देखिएको हो।
नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रका मुख्य सूचक दर्शाउने गरी प्रकाशन गरेको मासिक प्रतिवेदनमा माग घटेपछि विक्रेताबीच हुने प्रतिस्पर्धाले मूल्यवृद्धि कम हुनु, राष्ट्रिय उद्योग व्यवसायको सञ्चालन अवरुद्ध रहनु नै र आयात व्यापारमा समेत निरन्तर कमी आउनुले अर्थव्यवस्थाको गतिशीलता कमजोर भएको छ। केन्द्रीय बैंकले गत मंगलबार मात्रै कोरोना महामारीको असरबारे एक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनले ठूलो पुँजी लगानी गरिएका कम्पनीको पुनरुत्थान सन्तोषजनक भए पनि अधिकांश साना उद्योग व्यवसाय अझै महामारीको असरबाट बाहिर निस्कन कठिनाइ भोगिरहेको देखाएको थियो।
बुधबार प्रकाशित मासिक प्रतिवेदनले पनि गत साउनदेखि मंसिरबीचमा आयात व्यापार पोहोरभन्दा साढे ९ प्रतिशत घटेको देखाएको छ। अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नलगायत वस्तुको भाउ बढ्दासमेत आयातमा खर्चने रकम घट्नुको मतलव हामीले पोहोरभन्दा ज्यादै कम सामान मात्रै यो वर्ष भित्र्याउन सकेका छौं।
यस्तै राष्ट्र बैंकको प्रतिवेदनले खुद्रा व्यापारीको नाफामा निकै ठूलो असर परेको देखाएको छ। यो वर्ष खुद्रा बजारको मूल्यवृद्धि ९मुद्रास्फीति० २।९३ प्रतिशतमात्रै बढेको छ। जबकि थोक मुद्रास्फीति ७।४६ प्रतिशत बढेको छ। यसको मतलव गत वर्ष होलसेलमा एक सय रुपैयाँ तिर्नुपर्ने वस्तुलाई यो वर्ष १०७ रुपैयाँ ४६ पैसा तिर्नु परेको छ।
तर, खुद्रा पसलले पोहोर एक सय रुपैयाँमा बेचेको वस्तुबाट यो वर्ष १०३ रुपैयाँ पनि लिन सकेका छैनन्। यस्तो अवस्थाले खुद्रा व्यापारीको नाफा कम हुन जान्छ।