माघ १ गुल्मी । गुल्मीमा अनौठो घटना घटेको छ । झाँक्रीले रोग निको पारिदिने भन्दै तातो फलामले डाम्दा गुल्मीमा एक जनाको मृत्यु भएको छ । तातो फलामले डामिदा २ जना घाईते भएका छन ।
घटना रेसुंगा नगरपालिका–१, ओख्रेनी तीनधारामा भएको हो ।इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मालिका गाउँपालिका–६ अर्जे घर भई तीनधारामा भाडामा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी पत्नी ३६ वर्षीया शान्तिला श्रेष्ठले मुखियालाई सन्चो बनाउने भन्दै आगोमा फलाम तताएर डामेका थिए । उनीहरुले तातो फलामको रड र स्टीलको झाँझरले शरीरका विभिन्न ठाँउमा हानेका थिए ।
प्रहरीका अनुसार मुखियाका जेठा छोरा ३४ वर्षीय हुमबहादुर र रेसुंगा नगरपालिका–५, भुवनपानीकी ४० वर्षीया टोपला दमाई घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।
गत पुष २४ गतेको यो घटना हो । बेस्सरी डामेर गंभीर घाईते भएका मुखिया सन्चो भएर आफै उठने भन्दै झाँक्रीले छाडिदिएका थिए । त्यसको केही बेरमै उनको मृत्यु भएको थियो ।