पुष २२ काठमाण्डौं । निर्वाचन आयोगले हालै नेकपाको दुई अलग अलग समुहलाई लेखेको पत्रको व्यहोराप्रति नेकपा प्रचण्ड माधव समुहले असन्तुष्टी जनाएको छ ।
एउटै विवादका दुई पक्षलाई फरक फरक व्यहोराको पत्र पठाएको भन्दै यस समुहले सो पत्र असान्दर्भिक रहेको दाबी गरेको छ ।
केही दिन अघि निर्वाचन आयोगले प्रचण्ड माधव समुहलाई दलको आधिकारीकताको दाबीका लागि कानुनी प्रकृया पूरा गरेर सात दिन भित्र आउन पत्र लेखेको थियो । तर सोही दिन ओली समुहलाई विवरणको जानकारी दिन मात्र भनेर पत्र पठाएको थियो ।
आयोगले पठाएको पत्रनै अस्वभाविक र असान्दर्भिक भन्दै प्रचण्ड माधव पक्षले निर्वाचन आयोगलाई दलको आधिकारीकताको विवाद नरहेकाले र अध्यक्ष मात्र हटाएकाले स्वत दल र चुनाव चिन्हको आधिकारीकता आफूहरुको रहने पत्र मंगलबार आयोगलाई दिएको छ ।
दुबै पक्षले दल, चुनाव चिन्हमा दाबी नगरे पछि विवादको निरुपण गर्न निर्वाचन आयोगलाई कठिन भएको छ ।
नेकपाको बहुमत केन्दीय सदस्य र संसदीय दलको बहुमत सदस्यहरु प्रचण्ड माधव समुहमा रहेका छन् ।