पुष १२ एजेन्सी । यस अघि अनुमान गरिए भन्दा करीब ५ वर्ष अगावै सन् २०२८ सम्ममा चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने एक अध्ययनले देखाएको छ । ययसअघि अर्थशास्त्रीहरुले सन् २०३२ मा चीन विश्वको ठूलो अर्थतन्त्र बन्ने पुर्वानुमान गरेका थिए । बेलायतमा रहेको सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सीईबीआर) का अनुसार ‘कोभिड–१९ को कुशल व्यवस्थापनले’ आगामी वर्षहरुमा चीनको आर्थिक बृद्धि ठूलो हुने देखिएको छ ।
यसै गरी भारत पनि सन् २०३० सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने बताइएको छ । सीईबीआरले हरेक वर्ष डिसेम्बर २६ मा आफ्नो रिपोर्ट सार्वजनिक गर्दछ ।
चीनमा पहिलो पटक कोभिड–१९ को महामारी देखापरे पनि चीनले तीव्र र कडा कदम चालेर संक्रमणलाई नियन्त्रण लिन सफल भएको छ । त्यहाँ युरोपमा जस्तै अर्थतन्त्रलाई ‘प्यारालाइज’ गर्ने लकडाउन दोहोर्याउन परेन ।
यसको विपरीत अमेरीकामा कोरोनाले ठूलो असर पुर्यायो धने धेरै जनाको ज्यान समेत लियो । आर्थिक राहतको विषयमा विवादले १ करोड ४० लाख अमेरिकी बेरोजगार सुविधाबाट वञ्चित रहने पनि अध्ययनले देखाएको छ ।
‘रिपोर्टमा सन् २०२१ मा कोभिडपछिको अमेरिकी अर्थतन्त्रमा उछाल आउँदै सन् २०२२ देखि २४ सम्म वार्षिकरुपमा १.९ प्रतिशतले वृद्धि हुनेछ र त्यसपछि १.६ प्रतिशतमा सिमित हुनेछ ।
यता, चीनको अर्थतन्त्र २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि २०३० सम्म ४.५ प्रतिशतले वार्षिकरुपमा बृद्धि हुने दावी सो रिपोर्टमा गरिएको छ ।