रौतहट १ पुष । रौतहटको फतुवा विजयपुर नगरपालिकाले आफ्ना नगरबासीले उपभोग गरेको बिजुलीको महशुल भुक्तानी गरि दिएको छ । बुधबार नगरभित्र रहेका ८ हजार ६ सय घरधुरीले खपत गरेको बिजुलीको महशुल नेपाल विधुत प्राधिकरण मौलापुर शाखालाई नगरपालिकाले बुझाएको हो ।
पछिल्लो ३ महिनामा खपत भएको बिजुली बापतको रकम बिधुत प्राधिकरणलाई एकमुष्ट रुपमा तिरी दिएको फतुवा विजयपुर नगरपालिकाले जनाएको छ ।
विजयपुर नगरपालिकाको नगर प्रमुख गोपाल यादवका अनुसार ३ महिनामा खपत भएको बिजुलीको बिल बराबरको करिब ३९ लाख महशुल चेक मार्फत बिधुत प्राधिकरण मौलापुर शाखालाई बुझाईएको हो । पछिल्लो हरेक महिनाको अन्तिम हप्तामा नगरपालिकाले नै बिजुली बिल तिरी दिने उहाँले बताउनु भयो ।
नगर भित्रका हरेक नागरिकलाई निशुल्क बिजुली उपलब्ध गराउने नीति अनुसार बिधुत महसुल नगरपालिकाले नै तिरीदिएको उहाँको भनाई छ । सो नगरपालिकाले गत असोज देखि नगर भरिकै सबैको बिधुत महसुल तिरिदिने नीतिगत निर्णय गरेको थियो ।