जनकपुरधाम, मंसिर ३० गते । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन आज जनकपुरमा फुलबारी लिला मनाइँदै छ । फुलबारी लिलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ । जहाँ राम र जानकीको पहिलो भेट हुने गर्दछ ।
आज दिउँसो जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फुलबारी राम र लक्ष्मणलाई अव्लोकन गराई फुलबारी लिला मनाउने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले जानकारी दिए ।
यसमा राम र लक्ष्मणको स्वरुप बनाइएका बालबालिकालाई फुलबारीमा घुमाउने प्रचलन छ ।
त्रेता युगमा गुरु विश्वामित्र सहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ । त्यहिँ राम र जानकी एकअर्काप्रति आकिर्षत भएको र सीताले आफुलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको छ ।
यसअघि पहिलो दिन सोमबार राम र लक्ष्मणलाई नगरदर्शन गराइएको थियो ।
त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २९ गतेदेखि सुरु भएको रामजानी विवाहको काम पुस ५ गतेसम्म चल्ने छ ।
विवाहपञ्चमीको तेश्रो दिन भोलि पुस १ गते बुधबार धनुष यज्ञ, २ गते बिहीबार तिल्कोत्सव, ३ गते शुक्रबार राम र जानकीको मटकोर रहेको छ भने पुस ४ गते विवाहपञ्चमीको मुख्यदिन विवाह रहेको छ । पुस ५ गते रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।