सामान्यतया भैलो भन्नाले केटाकेटीहरुले तिहारको बेला समूहमा मिलेर गाईने गीतलाई जनाउदछ ।भैलो नेपालको लागि पुरानो संस्कृति हो । देउसी भैलो परापूर्वकाल देखि घरघर गई खेलिने पर्व हो ।यो पर्व कहिलेदेखि मनाउन शुरु गरिएको हो भन्ने खास प्रमाण नभएतापनि बलीराजाले शुरु गरेको सुन्नमा आएको छ ।बलीहाङ राना मगर (बलीराजा) पाल्पाका न्याय प्रेमी, धर्मात्मा र भविष्यवेत्ता राजा थिए ।यिनको गुणगान गर्नको लागि रैतिहरुले भैलो गाउने गरेको अनुमान गर्न सकिन्छ ।
भैलो पर्वलाई दान, दक्षिणा माग्ने पर्वको रुपमा खेलिन्छ ।यसमा आफ्नो अर्जो गर्जो टार्नको लागि आफुसंग नभएको वस्तु आफ्ना छरछिमेकबाट दान माग्ने गरिने भएकोले दान लिने पर्व हो ।
बुढो भैलो खास गरी तिहार वा दिपावलीमा औसीदेखि द्वितीयासम्म तीन दिन खेलिने भैलो जस्तै: भएपनि त्यतिबेला नखेलेर त्यसको एक महिनापछिको औसीदेखि द्वितीयासम्मवा वालाचतुर्दशीको भोली पल्ट पर्ने औसीका दिन देखि द्वितीयासम्म ढिला गरी खेलिने भएकोले यस भैलोलाई बुढो भैलो भनिन्छ ।
महिला-महिला तथा पुरुष-पुरुषआआफ्नो समूहमा जम्मा भएर छिमेकीको घरआँगनमा भैलो खेल्ने प्रचलन छ । भैलो गीतिमय पर्व पनि हो । भैलो गाउदा एकजना मुख्य व्यक्ति अगुवाको रूपमा लय गाउने गर्छ र उसैको ताल र सुरमा अरूले गाउछन् । मुख्य व्यक्तिले शुरुमा गाउछ वा भट्याउछ र अरु साथीहरुले त्यसको अनुसरण गर्दै खेल्छन् । दान-दक्षिणा पाइसकेपछि भैलारू (भैलो खेल्ने) ले घरधनीलाई आशिष् (आशीर्वाद) दिने गर्छन् ।
तिहार तथा दिपावली कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथी देखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथी सम्मको यमपञ्चकलाई तिहार भनिन्छ । तिहारको पहिलो दिनमा काग तिहार, दोस्रो दिनमा कुकुर तिहार, तेस्रो दिनमा गाई तिहार, चौथो दिनमा गोरु तिहार र पाचौं दिनमा भाइ तिहार गरी पाँच दिन सम्म मनाईने र औसी देखि द्वितीयासम्मको तीन दिन भैलो देउसी खेलेर मनाईन्छ ।तर बुढो भैलो यसको ठीक एकमहिनापछि मंसिर औंसीदेखि द्वितीया तिथीसम्म तीन दिन मात्र मनाइन्छ । औसीको दिन विहान गाईलाई पूजा गर्ने गाईको गोबरले घरलाई लिपपोत गर्ने गरिन्छ ।बेलुका घर आँगनमा दीप प्रज्वलन गरिन्छ ।त्यसै गरी प्रतिपदाको दिन गोरुलाई पुजा स्वरुप नयाँ फुन्ना(फूल)वाला रंगिन डोरा लगाउने गरिन्छ ।द्वितीयाको दिन तथा भैलोको अन्तिम दिनमा बिहान भैलो माग्ने गरिन्छ र यसरी बुढो भैलो समापन हुन्छ ।जाडोको समय हुनुको साथै साना साना केटाकेटीहरुले खेल्ने हुनाले भैलोको तीनै दिनमात्र बिहान वा दिउसो मात्र भैलो खेल्ने गरिन्छ ।
तिहारमा खेलिने भैलोको एक महिनापछि खेलिने भएकोले बुढो भैलो भनिए पनि एउटै जिल्लामा कुनै ठाउँमा तिहारमा र कुनै ठाउँमा तिहारको एक महिना पछि यसरी किन ढिलो हुन गयो होला भन्ने कुरा खोजको विषय अवस्य पनि हो ।सामान्यतया अनुमान गर्न सकिन्छ की देवी देवताको पूजा आजाको समय ठाउँ तथा स्थान अनुसार करिब खेतबारीबाट अन्नभित्र्याई सकेपछि गरिन्छ । न्वागी चढाउने भनेको नयाँ अन्न देवीलाई चढाउने र प्रसादको रुपमा आफु तथा आफन्त इष्टमित्रहरुलाई तथा साथीभाई साथी संगीनीहरु समेत जम्मा भई रमाइलो मनाउने राम्रो लगाउन मिठोमसिनो खाने प्रचलन चलिआएको पाईन्छ ।
सामान्यतया चाडपर्वको शुरुवात ओल्के सांक्रान्तिबाट शुरु भएको मानिन्छ ।ओल्के सांक्रान्ति पनि कतिपय ठाउँमा साउने सांक्रान्तिलाई मानिन्छ भने सुदुरपश्चिमको पहाडी जिल्लाहरु बैतडी, दार्चुला लगायतमा भाद्र सांक्रान्तिलाई मानिन्छ । यो वर्षातको समयको फुर्सदको संकेत पनि हो । त्यसपछि सोह्र श्राद्ध पितृ पर्वको रुपमा मनाईन्छ ।पितृपर्व पश्चात् घटस्थापना देखि दशैंसम्म शक्ति स्वरुपा देवीको पूजा आराधाना गरी नवरात्री र कोजाग्रत पूर्णीमासम्मको तिथी सम्म महान पर्वको रुपमा दशैंमनाइन्छ ।दशैं समाप्त भए लगत्तै धनधान्यकी देवी लक्ष्मी पूजाकोलागि तिहार तथा दिपावली कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथी देखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथी सम्मको यमपञ्चकलाई तिहार भनिन्छ । तिहारको पहिलो दिनमा काग तिहार, दोस्रो दिनमा कुकुर तिहार, तेस्रो दिनमा गाई तिहार तथा लक्ष्मी पूजा , चौथो दिनमा गोरु तिहार र पाचौं दिनमा भाइ तिहार गरी पाँच दिन सम्म मनाईने र औसी देखि द्वितीयासम्मको तीन दिन भैलो देउसी खेलेर मनाईन्छ ।तिहारको अन्तिम तिर नेवार समुदायहरुले योमरि पुन्हि /धान्यपूर्णिमा तथा ज्यापु दिवश मनाउदछन ।त्यसपश्चात विशेषगरी तराई मधेशी समुदायले छट पर्व र जितिया पर्व मनाउने गरेको भएतापनि भैलो खेल्ने प्रचलन छैन ।मुस्लिम समुदायको इदुल फित्र र बकर इद समेत यसै बीचमा पर्दछ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु खासगरी बझाङ्ग, बाजुरा, अछाम र डोटीमा देउसी र भैलोको रुपमा भुवा(भस्सो) प्रसिद्ध नाँच पर्वको रुपमा मनाइन्छ ।यस पर्वमा कौरव र पाण्डव बीच भएको युद्धको सम्झनामा हरेक वर्ष पुस महिनाको औसीका दिनदेखि कम्तिमा ७ दिन मनाई पूर्णीमा अगाडि नै समापन गरिन्छ ।यो पर्वको शुरुवात मसाल (राँको) सल्काएर शुरु गरिन्छ ।युद्धको समयमा कौरव र पाण्डव बीच भएको भिडन्तको कथालाई एक समुहले नाच्दै लयात्मक शैलीमा भट्याउने र अर्को समूहले हातखुट्टाको चालमा नाच्दै “भस्सो” भन्ने गर्दछन ।भुवा पनि एक किसिमको भैलो नै हो यसमा घरघरमा गएर देउसी भैलो जसरी भुवा खेलेर चामल, दक्षिणा माग्ने र आशिर्वाद दिने प्रचलन रहेको छ ।
किराँत समुदायका राई, लिम्बु, सुनुवार, याख्खा, जिरल, सुरेल, हायु, धिमाल लगायतका जातजातिहरुले मनाउने उधौली पर्व मंसिर पूर्णिमाका दिनबाट शुरु हुने गर्दछ । यसमा लेकबाट वेंसीतिर बसाई सर्ने संकेत गर्नुको साथै अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने प्रचलन रहेको छ ।यस पर्वमा देवी देवता र पित्रुहरुलाई नयाँ अन्न तथा फलफूल चढाउने भएकोले न्वागी पूजा पनि भनिन्छ ।
नेपालको उच्च पहाडी भुभागमा बसोबास गर्ने बौद्ध धर्मालम्बीहरु खासगरी तामाङ्ग शेर्पा गुरुङ्ग थकाली आदि जातजातिहरुले मनाउने लोसार पर्व लाई नयाँ वर्षको रुपमा मनाउदछन ।यसको साथै चिनीया जापानी मंगोलियन कोरियन भियतनामीहरुले समेत नयाँ वर्षको रुपमा मनाउदछन । नेपालमा खासगरी तीन किसिमको लोसार मनाउने गरिन्छ ।तुम लोसार – गुरुङ्ग जातिले मनाउने गर्दछन । यो पुस १५-१६ गते तिर पर्दछ ।सोनाम लोसार – तामाङ जातिहरुले माघे सांक्रन्तिको छेउछाउ तिर पर्दछ ।ग्याल्पो लोसार – शेर्पा समुदायले फाल्गुन महिनामा मनाउदछन ।
नेपालमा बसोबास गर्ने थारु समुदायले माघे सांक्रान्तिको दिन मौलिक संस्कृतिको रुपमा माघी पर्व मनाउने गर्दछन ।यस पर्वलाई नयाँ आर्थिक वर्ष तथा घर सल्लाह गर्ने पर्वको रुपमा मनाउदछन ।
बैतडेली भाषामा खेल्ने बुढो भैलोको लय
-
- औसीबार, गाईको त्यार, भैलो !
- त्यारकाबार, धर्मकाबार, भैलो !
- धर्मकी खोली, पैसाकी झोली, भैलो !
- तीनपैसा माझ, गरेन तरे, भैलो !
- पिपल ढले, पिपल पाती, भैलो !
- रायाकी छाती, राय जमान, भैलो !
- नान्नाना घरको, चामल्या मानो, भैलो !
- ठुलाघर मनुन, रितजनुन, भैलो !
- यई ठुला घरको, बाकरो खानु, भैलो !
- छ्यो बाकरी, छोटी नमोटी, भैलो !
- देउसीय रोटी, देउसीयबार, भैलो !
- भया भरीबार, भैलाका त्यार, भैलो !
- यई घरकी रानी, काँगैन पानी, भैलो !
- न खोला खेत, न वन बेत, भैलो !
- मागन हमी, आएका नाईहुँ, भैलो !
- वर्ष दिनको, त्यार बनुन, भैलो !
- रित जनुन, सिद्धि सुनुन, भैलो !
- आएका हमी भैलो !
- जो देलो पैसा, उईका वनभरी भैंसा, भैलो !
- जो देलो नाली, जोला पुत पाली, भैलो !
- जो देलो केला, उईका काखी चेला, भैलो !
- जो देलो मानु, उईका सुनको छानु, भैलो !
- दिन्छौ दिय, हमरो पैंचो लिय, भैलो !
- यई कुना जान्छि, पोईला सुनुन्छि, भैलो!
- उई कुना जान्छि, कति दिउ भुणुन्छि, भैलो !
- जो देलो मुठी, उईका हात टुटी, भैलो !
- जो देलो पाथी, उईका सुनकी छाती, भैलो !
- ऐराकी जसी झालताल होइझ, भैलो !.
- दुवाकी जस्या पलुई झ्या, भैलो !
- भया जति नान्दिना बाँचिरुन, भैलो !
- केला थुमकी जस्या गाँजाई झ्या, भैलो !
- घुपाकी जस्या फुली रह्या, भैलो !
- हिमञ्जलो हिउ छन्ज्यासम्म जिर्या, भैलो !
- पुणानीका झालकी जस्या मौला रह्या, भैलो !
- हाजारी फुलकी जस्या फुली रह्या भैलो !
- भैलो भित्र पस्यो ।
उपर्युक्त सबै पर्वको बारेमा अध्ययन गर्दा नेपालको भुगोल हावापानी जैविक विविधताले सम्पन्न हुनुको साथै बहुधार्मीक, बहुभाषिक, बहुजातिमा पनि विविधता रहेकोले यहाँका चाँड पर्वमा पनि विविधता हुनु स्वभाविक नै भएकोले कतिपय मौलिक साँस्कृतिक पर्व क्रमश: लोपहुदै गएका र आयातित संस्कृतिको शुरुवात भएको पाइन्छ ।यस्ता मौलिक संस्कृति संरक्षण गर्नु अपरिहार्य रहेको छ ।संस्कृति मानवको जीवन हो भन्ने कुरालाई विर्सनु भनेको मानवत्व विर्सनु हो ।पर्यटक प्रर्वद्धनको लागि मुख्य आधार मौलिक संस्कृति भएको हुनाले संस्कृतिको जगेर्नामा स्थानीय र प्रदेश सरकारले ध्यान दिनु अति आवश्यक छ ।
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला लगायतका पहाडी जिल्लाहरुमा तथा एउटै जिल्लाभित्र पनि स्थान विशेषमा मात्र बुढो भैलो मनाउने गरिन्छ ।बैतडी जिल्लाको पनि माझ बैतडीमा यो बुढो भैलो नमनाई तिहारमा नै भैलो मनाउने गरेको पाईन्छ भने बैतडीकै ककरपाखा क्षेत्रर तल्लो सोराड सलेना क्षेत्रमा बुढो भैलो मनाउने गरिन्छ ।यसै गरी बाजुराको कैलाशमाडौं क्षेत्रमा बुढो भैलो मनाइन्छ।केटाकेटीले भैलोमा दक्षिणाको रूपमा चामल वा धान पाउछन् र भैलो सकिएपछि प्राप्त चामलको माणा( तावामा तेल वा घी वा नौनी लगाएर पकाइने चामलको एक प्रकारको रोटी) पकाएर खाइन्छ ।कहिकहि भैलारु (भैलो खेल्ने व्यक्तिहरु) हरुले वनभोज मनाउने चलन पनि रहेको छ ।धेरै जसो त पुस १५ मा माणा पकाउने गरिन्छ । आजभन्दा करिब ४० वर्ष अगाडिसम्म सबैको घरमा चामल सजिलै उपलब्ध हुदैनथ्यो ।चामलका परिकार चाडबाडमा पकाउने गरिन्थ्यो । गरीब मानिसले पनि छरछिमेकबाट धान चामल ऐँचोपैंचो लिएर पर्व मनाउथे । केटाकेटीले भैलो खेलेर आर्जन गरेको चामलको माणो खाने प्रचलनमा महत्वपूर्ण भोजनको रूपमा लिइन्थ्यो ।
खेती किसानीबाट फुर्सद पाइसकेको समय वा अवस्थामा बुढो भैलो मनाइन्छ ।यस समयमा गहुँ छर्ने, पर्सो (गोबर) बोक्ने र गाज्यो समेत बोकी लुट्याई (थन्क्याइ) सकेपछि मनाउने गरिन्छ ।विभिन्न जातजातिहरुले मनाउने चाडबाडको दशैं तिहारदेखि प्रारम्भ भै फाल्गुनसम्म मनाउने गरेको पाइन्छ । आजभोली बुढो भैलो खेल्ने प्रचलन लोप हुँदै गएको छ । यसको संरक्षण सम्वर्द्धन खोज अनुसन्धान गरी मौलिक संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य रहेको छ ।
मौलिक संस्कार र संस्कृतिको संरक्षण गरौं !
सभ्य समाजको निर्माण गरौं !
बुढो भैलो, २०७७को हार्दिकमंगलमय शुभकामना !
सन्दर्भ सामाग्रीहरु
-
-
- यो आलेख म सानो छदाको स्मरण तथा मेरा पुज्यनीय माता धाना नाथ र पिता धनि नाथज्यूले जानकारी गराएको आधारमा तयार गरेको हुँ ।यस आलेखलाई लेखनको लागि मलाई उत्प्रेरित गर्ने मेरो प्रेरणाका स्रोत आदरणीय विद्वान डा. पदमराज कलौनीज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछु ।यसमा खास सन्दर्भ सामाग्रीहरु उपलब्ध नभएकोले निम्न लिखित व्यक्तित्वहरुसंग सम्वाद गरी तयार पारेको छु ।
- कलौनी, डा. पदमराज, पिपलकोट, बैतडी
- भट्ट, खगेन्द्रराज, मैनाली, बैतडी
- जोशी, शंकरदत्त, पाटन, बैतडी
- भारती, देवी, रुपाल जोग्यौडा, डडेल्धुरा
- धामी, जनक बहादुर, देवल, बझाङ
- नाथ, पशुपाति, कैलाशमाडौं बाजुरा
- न्यौपाने, नारायण, वीरेन्द्रनगर, सुर्खेत
- जोशी, खिमानन्द, बोहोरी गाउँ, दार्चुला
- सिंह, गौरीशंकर प्रसाद, कोइलारीमध्येपुरा, सप्तरी
- वली, अमरसिंह,राँक, रोल्पा
- डोटेली भैलो विकिपिडिया https://dty.wikipedia.org/wiki २८ अक्टोबर २०१८
-