काठमाडौं मंसीर २९। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खोलेको छ ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।
बाँकि रहेको ५४ लाख कित्तामा सर्बसाधारणले आवेदन दिन पाउने छन् । लगानीकर्ताले आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
यो आवेदन पुष २ गते सम्म दिन सकिने छ । तर त्यस अवधिमा माग बमोजिम आवेदन नपरे पुष १३ गते सम्म पुनः आवेदन मिति थपिने छ । तर विगतको प्रवृति हेर्दा आईपिओमा समयमै माग भन्दा बढी आवेदन पर्ने संभावना रहेको छ ।
लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडौँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको र ६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब हुन्छ ।