मंसीर २३ काठमाण्डौं । मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको भन्दै घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ । विप्लव नेकपाको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको हो । आज बिहान बर्खे जंगलमा श्रेष्ठको शब फेला परेको थियो ।
मेचीकोशी ब्युरोका ईन्चार्ज प्रतापले जारी गरेको बिज्ञप्तिमा श्रेष्ठले लामो समयदेखि सुराकी गर्दै आएको र पटक पटक सम्झाउन खोज्दा पनि नसुध्रिएको,०७६ साल फागुण २६ गते ब्युरो बैठकमा प्रहरी बोलाएर दमन गराएको, कार्तिक १२, २०७७ गते शसस्त्र प्रहरी बोलाएर दुई जना ब्युरो सदस्य पक्राएको,जनताका घर घरमा प्रहरी पठाएर नेकपाका नेता कार्यकर्तालाई खान बस्न दिए तातो गोली खान्छौ भन्दै धम्की दिएको दाबी गरिएको छ ।
यस पटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आईलागेकाले प्रतिकार गर्दा मृत्यु भएको विज्ञप्तिमा दाबी गरिएको छ ।
प्रहरीले भने शिक्षक श्रेष्ठलाई अपहरण गरेर जंगलमा लगेर घाँटी रेटेर हत्या गरेको दाबी गरेको छ । घटनामा संलग्नहरुको खोजी कार्य तीव्र पारिएको पनि प्रहरीले जनाएको छ ।