मंसीर १४ बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जीप आज बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनमा परेर जीपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनमा परी जीपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँच जना घाइते भएका छन् । घाइते चालक कटुवाल र उहाँकी श्रीमती सुनिता क्षेत्री, जीपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको छ ।
यसै गरी मोरङ सुन्दर हरैचा–७ बस्ने ४० बर्षीय बिजेस लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान ८ बजे सुन्दर हरैचा–८ सलकपुर स्थित राजमार्गमा प्रदेश नं. १–०१–००१ ख ३४१० नम्बरको बसले को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक बिजेस लिम्बु गम्भिर घाईते भएका थिए ।
घाईते लिम्बुको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक झापा कन्काई–१ का २९ बर्षीय बाबुलाल उराव नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।