मंसीर ११ काठमाण्डौं । नेपालको सबै भन्दा ठुलो र पुरानो दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ । यो सुविधाले यो सेवामा थप आकर्षण बढ्ने टेलिकमले विस्वास व्यक्त गरेको छ ।
टेलिकमका प्रवक्ता राजेश जोशीले आज एक विज्ञप्ति जारी गरी विद्युत आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा अवरुद्ध हुन जाने हुनाले इन्भर्टरको फुल व्याकअप भएका घर तथा कार्यालय बाहेक अन्य स्थानहरुमा भ्वाइस सेवा प्रयोगमा असुविधा उत्पन्न भएको पाइएको भन्दै हाल बजारमा सानो खालको राउटर यूपीएस वा एडेप्टर समेत सहज रुपमा उपलब्ध भएको हुनाले ग्राहकहरुले आफ्नो सुविधाका लागि यस्ता डिभाइस प्रयोग गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।
राउटर यूपीएस जस्ता साना डिभाइस विभिन्न क्षमताका हुन्छन् र विद्युत नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरताका लागि उपयुक्त हुन्छन् । एडेप्टरमा भने त्यसमा भएको ब्याट्री विद्युत उपलब्ध भएको समयमा आफैं चार्ज हुन्छ र विद्युत नभएको समयमा त्यही ब्याकअप पावर खपत हुन्छ । कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर उपयुक्त हुने भएकाले ग्राहकवर्गले आफ्नो आवश्यकता तथा सहजता अनुसार बजार वा इलष्लिभ बाट खरिद गरी प्रयोग गर्न उपयुक्त हुने देखिन्छ ।, जोशीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
हाल कम्पनीले एफटीटीएच सेवामा विभिन्न प्याकेजहरु आकर्षक दरमा उपलब्ध गराइरहेको छ । प्राविधिक रुपले सम्भव हुने स्थानहरुमा पुरानो ल्याण्डलाइन फोनलाई एफटीटीएच प्याकेजअन्तर्गत एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराई नयाँ एफटीटीएच जडान गर्दै आएको छ ।
उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु, टेलिफोन सेवा र भविष्यमा टेलिभिजन समेत उपलब्ध भए पश्चात् ग्राहकवर्गका लागि कम्पनीको ट्रिपल प्ले सुविधा थप आकर्षक हुने विश्वास टेलिकमले गरेको छ ।