दुव्र्यसन र सडबासबाट सय प्रभावशाली महिलाको सूची सम्म, आत्मविश्वासले बदलिएको सपनाको जीवन

दुव्र्यसन र सडबासबाट सय प्रभावशाली महिलाको सूची सम्म, आत्मविश्वासले बदलिएको सपनाको जीवन

  • बुधबार, मंसिर १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् ।

आत्मविश्वासका साथ गलत सङ्गत र दुव्र्यसनीको दलदलबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे शव व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन ९बिबीसी०ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।

बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङलगायत १०० जनाको सूची मङ्गलबार सार्वजनिक गरेको हो ।

सपनाले काठमाडौँमा अलपत्र अवस्थामा भेटिएका बेवारिसे शवको दाहसंस्कार गर्दै आएकी छिन् । बेवारिसे शव अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना खटिएकी छिन् । उनले हालसम्म करिब ३०० बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।

“विश्वमा थुप्रै मानिस घरबारविहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ”, सपनाले भनिन्, “मैले यो काम समाजसेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हूँ ।” बिबीसीले प्रभावशाली महिलाको सूचीमा राखेपछि आभार प्रकट गर्दै रोकाले सामाजिक कार्यमा हौसला थपिएको प्रतिक्रिया दिइन् । सपनाले गाउँ र देशको नाम राखेको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको स्थानीय कलाधर कँडेलले बताउनुभयो ।

अठार वर्षीय रोकाको घर मङ्गला गाउँपालिका–४ बुकेनी हो । रोकाले विसं २०७३ मा बरङ्जाको महेन्द्ररत्न माविबाट एसइई उत्तीर्ण गरिन् । कक्षा ११ पढ्न बेनी झरेकी उनी भागी विवाह गरेर बुटवल पुगेकी थिइन् । वैवाहिक जीवन असफल र परिवारबाट टाढिएपछि उनको मनमा आत्महत्याको सोच पनि आउँथ्यो । जीवन अन्त्य नभएर सङ्घर्ष भन्ने धारणाले जीवनमा ‘युटर्न’ भएको रोका बताउँछिन् । भिनाजुको सहयोगमा बुटवलबाट म्याग्दी आएपछि सपनाले अध्ययनलाई निरन्तरता दिइन् ।

पोखरामा बसेर कक्षा १२ को पढाइलाई पूर्णता दिने क्रममा भेटिएकी सलिना बस्नेतसँगको मित्रताले सपनाको यात्रा समाजसेवातर्फ मोडियो । काठमाडौँमा बेवारिसे शव व्यवस्थापन गर्दै आएको एक्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयजङ्ग बस्नेतसँग सलिनाको माध्यमबाट चिनजान भयो । सलिनाकी बुवा विनयलाई सपनाले कर्मबुवा मान्छिन् ।

बस्नेतलाई साथ दिँदै सपनाले एक वर्षयता पशुपति आर्यघाटमा बेवारिसे शवको व्यवस्थापन र दाहसंस्कार गर्छिन् । काठमाडौँका विभिन्न स्थानमा बेवारिसे शव भेटिएपछि दाहसंस्कार गर्नका लागि सपनालाई सम्पर्क गर्छन् । कानूनी प्रक्रिया पूरा गरेपछि उनीले आर्यघाटमा दागबत्ती दिने र दाहसंस्कार गर्छिन् ।

सपना काठमाडौँका अस्पतालमा बेसहाराको अभिभावकको रूपमा चिनिन्छिन् । “कुनै समय म पनि सडकमै थिएँ, सडकको अनुभव मलाई पनि छ”, सपनाले भनिन्, “बेवारिसे शवलाई दागबत्ती दिएर सेवा गरेकी हुँ, मरेको आत्माले शान्ति पाए मलाई पुग्छ ।”

आर्यघाटमा अरु शवको दाहसंस्कार गर्दा मलामी र आफन्त हुन्छन् । सपनाले दाहसंस्कार गर्ने ठाउँ सुनसान हुन्छ । एकै दिनमा छ वटासम्म शवको दाहसंस्कार गरेको उनी बताउँछिन् । अभिभावकको इच्छाअनुसार पढाइलाई निरन्तरतासँगै सडकमा बेवारिसे मानिसको सेवा गर्ने सपनाको योजना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी