मंसीर ३ काठमाण्डौं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको छ।
कम्पनीले ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको छ । यस अघि स्थानीयवासीका लागि आईपिओ जारी भएको थियो ।
यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। निष्काशन गरिने कुल शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी पूँजीको २५ प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । आईपिओमा आवेदन मंसीर ७ गते सम्म भर्न सकिने छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
प्रकाशित विवरण पत्र अनुसार गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६-७७ मा कम्पनीको प्रतिशेयर नेटवर्थ ८५.८२ रुपैयाँ रहेको छ। चालु आव अर्थात आव २०७७–७८ मा कम्पनीले प्रतिशेयर नेटवर्थ ९८.६९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२.९७ रुपैयाँ ऋणात्मक रहेको छ भने चालु आवमा ८.३३ रुपैयाँ धनात्मक हुने प्रक्षेपण गरेको छ ।