नेपाल भौगोलिक तथा जैविक विविधताले सम्पन्न हुनुको साथै भाषा, धर्म, जातजातीमा पनि त्यतिकै विविधता रहेको पाईन्छ । यहाँ १२५ जातजाति र १२३ भाषा बोलिन्छन । हिन्दु धर्मावलम्बीहरुले दशैंलाई महान पर्वको रुपमा मनाउने गरेको भएपनि दशैं पछिको दोस्रो ठुलो पर्वको रुपमा दिपावलीलाई सबै जातजाति तथा धर्मावलम्बीहरुले सहिष्णुताका साथ मनाउने गर्दछन ।दिपावली प्राकृतिक पर्व हो । प्रकृति आफैमा सजिएको हुन्छ ।आफैमा सिंगारिएको हुन्छ । यो पर्व सरद ऋतुमा मनाईने भएकोले यस मौसममा खेतमा तथा घरभित्र प्रयाप्त मात्रामा अन्न उपलब्ध हुने, बारीमा विभिन्न थरिका सागपात तथा तरकारी उपलब्ध हुने, विभिन्न किसिमका फलफुलहरु पाकेका हुने, विभिन्न थरीका फुलहरु फुल्ने, पशुवस्तुले प्रयाप्तमात्रामा हरियो घाँसपात खानपाउने भएकोले दूध तथा दुग्धजन्य उत्पादन पदार्थ प्रयाप्त मात्रामा हुने गर्दछ ।अन्न, धन र गोरसको उपलब्धताको बीचमा यो पर्व मनाईन्छ ।यो पर्व सुख शान्ति एस आरामका साथमा मनाईन्छ । संस्कार बिहिन मानवले आफ्नो कर्तव्य पुरा गर्न सक्दैन् । मानवीय जीवनलाई सभ्य र संस्कारमय बनाइ राख्न विभिन्न संस्कारहरुको अवलम्वन गरिन्छ । यसै अनुरुप यहाँ विभिन्न संस्कृति तथा संस्कारहरु रहेका छन । संस्कारले नै मानवलाई सुसंस्कृत मानव बनाई राख्दछ ।संस्कार मानवको गहना भएकोले यसको अहम भूमिका रहेको छ । सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुला लगायतका जिल्लाहरुमा पनि द्वितीयाको चिउरालाई प्रसादको रुपमा लिईने भैलो पर्व (भाइटीका) वा दीपावली मनाउने प्रचलन रहेको छ ।
द्वितीयाको चिउरालाई प्रसादको रुपमा लिने पर्व तिहारको अन्तिम दिनमा मनाईन्छ ।प्रसादको रुपमा ग्रहण गरिने चिउरा खासगरी तिहार तथा दिपावली कार्तिक शुक्ल पक्षको द्वितीया तिथीमा बनाएको चिउरालाई लिइन्छ ।कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथी देखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथी सम्मको यमपञ्चकलाई तिहार भनिन्छ । तिहारको पहिलो दिनमा काग तिहार, दोस्रो दिनमा कुकुर तिहार, तेस्रो दिनमा गाई तिहार, चौथो दिनमा गोरु तिहार र पाचौं दिनमा भाइ तिहार गरी पाँच दिन सम्म मनाईने र यसै दिनमा बनाईने चिउरालाई प्रसादको रुपमा लिइन्छ ।
चिउरा (Flattened Rice / Beaten Rice ) भन्नाले धानलाई पानीमा राम्ररी ढाडिने गरी २ दिनसम्म भिजाई निथारेर भुटी ओखल वा मिलमा कुटेर तयार पारिएको खाद्य पदार्थलाई जनाउदछ ।
गाउँघरमा द्वितीयाको दिन महिलाहरु विहानै देखि चिउरा बनाउनको लागि सबै ओखलहरु व्यस्त हुन्छन । आधुनिकता संगै आजभोली मिल उपलब्ध भएकोले चिउरा बनाउन सजिलो भएको छ । मिलमा बनाएको चिउरा भन्दा ओखलमा बनाएको चिउरा निकै मिठो तथा स्वादिलो हुन्छ ।
चिउरा बनाई सकेपछि राम्ररी निफनेर पछ्यौल चिउरा (नकाटिएको सङ्लो वा सिङ्गो दाना भएको ) एक मानो चिउरा टाउको पुज्नको लागि राखिन्छ । त्यही चिउराले घरको जेठो मान्छेले सबैको टाउको पुज्दछन ।भने दिदी-बैनीको अटुट रूपमा माया प्रेम दर्शाउने दाइ-भाइ पुज्ने कार्यले चिउरालाई दीर्ध जीवन बृद्धिको प्रसादको रुपमा पनि ग्रहण गरिन्छ । चिउरा खानको लागि सबैको भाग बनाएर दिईन्छ । छरछिमेकीमा पनि बाडेर खाने चलन छ ।
बैतडेली भाषामा गौरामा शिर वा टाउको (मुन्डु) पुज्दा दिने आशिर्वादले जोला खाट सिनुपाए जोला पुत खेलुन पाए जोला गाई दुन पाए घुपाकिजसे फुल्झे दुबाकिजसी चौड होझ केला जसो बाग होईझ सिन्न झो राँग होइझ ऐरा झो झाल होझ समुन्द्रो पानी छन्जे सम्म बाँचि रे हिमञ्जलो हिउ छन्जेलसम्म जि रे इष्टकुल देवता ३३कोटी देवताकी छाँया पड दशैंको जोरो पञ्चमीको बिरुडो दुत्या चिउरो तुकिलेका फलिपसोस भनि आशिर्वाद दिनेबाट पनि द्वितीयाको चिउराको महत्व झल्किन्छ ।
उपर्युक्त बैतडेली भाषामा दिने आशिर्वादको नेपालीमा रुपान्तरण निम्न अनुसार रहेको छ । जस्तै :
जोला खाट सिनु पाए – आजिव श्रीमान श्रीमति संगै रहन पाउनु वा सौभाग्य प्राप्ति
जोला पुत खेलुन पाए – छोरा छोरी दुबैलाई खेलाउनु पाउनु वा सन्तानको सुख प्राप्ति
जोला गाई दुन पाए – सधैं गोरस निरन्तर उपलब्ध होस
तालकी जस्या निउण झे – तालको जसरी गहिरो तथा शान्त हुनु
घुपाकिजसे फुल्झे – घुपोको जसरी सेतो हुन्जेलसम्म बाच्नु वा दिर्घायु होस
दुबाकिजसी चौड होझ – दुबोको जसरी जरा बाधिएर फैलिने तथा कसैगरी नमासिने हुनु
केला जसो बाग होईझ –केराको बगैचा एकपटक लगाएपछि वर्षौ वर्षसम्म बाँचि रहन्छ वा कसैले पनि सजिलै संग उखेल्न सक्दैन त्यसतै हुनु
सिन्ना झो झाल होइझ – सिस्नो जसरी बलियो तथा हृष्टपुष्ट हुनु वा सिस्नुमा सजिलैसंग कसैले पनि हात हाल्न सक्दैन वा व्यापक रुपमा फैलिनु
ऐरा झो झाल होझ – ऐराको जसरी सबै तिर फैलिनु
समुद्रो पानी छन्जेसम्म बाँचि रे – समुद्रमा पानी रहुन्जेल सम्म बाचिरहनु
हिमञ्जलो हिउ छन्जेलसम्म जि रे – हिमालयमा हिउ रहुन्जेलसम्म जिउदो रहनु
इष्टकुल देवता, ३३कोटी देवताकी छाँया पड- इष्टकुल देवता ३३कोटी देवी देवताले सधैं रक्षा गरुन
दशैंको जोरो – दशैंको जमरा
पञ्चमीको बिरुडो – गौरा पञ्चमीको बिरुडा (गहत, मास, गुरुस, गहुँ, सानो केराउ गरी पञ्च अन्न वा पञ्च बिरुडी )
दुत्या चिउरो – कार्तिक शुक्ल पक्ष द्वितीया तिथीको चिउरा
तुकिलेका फलिपसोस – तिम्रोलागि फलोस फुलोस
भनि आशिर्वाद दिनेबाट पनि द्वितीयाको चिउराको महत्व झल्किन्छ ।
चिउरा जुठो नमानिने खाद्यवस्तु हो । यसलाई भातको सट्टामा खाने गरिन्छ । चिउरालाई दहि, मासु, मिठाई, तरकारी, चाउचाउ लगायत अन्य परिकारहरुसंग खाने चलन छ ।नेवारी समुदायमा चिउराले भोजलाई पूर्णता दिने भएकोले भोजमा अनिवार्य मानिन्छ ।पैदल यात्रा गर्नु पर्ने अवस्थामा वा सजिलै खाना नपाउने ठाउँमा यात्रा गर्नु पर्ने ठाउँकोलागि चिउरा खाएर पनि जीवनलाई सहज बनाउन सकिने भएकोले द्वितीयाको चिउरालाई प्रसादको रुपमा लिने प्रचलन सान्दर्भिक रहेको छ । यसको बारेमा अझै थप खोज गर्नु अपरिहार्य छ ।
सन्दर्भ सामाग्रीहरु
- शर्मा, बसन्तकुमार (द्वितीय संस्करण २०६४ जेठ ) संक्षिप्त नेपाली शब्दसागर, शब्दार्थ प्रकाशन, चाबहेल काठमाडौं
- शर्मा ऋषिराम ( पाँचौं संस्करण २०७२ ) आधुनिक नेपाली निबन्धमाला एकता बुक्स काठमाडौं नेपाल
- चिउरा, स्वतन्त्र विश्व कोश नेपाली विकिपिडिया
( लेखक बैतडी जिल्ला, डिलासैनी गाउँपालिका, वडा नं. ०५ गोकुलेश्वर, नगराउँ स्थायी ठेगाना भई हाल राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुरमा पशु विकास अधिकृत पदमा कार्यरत हुनु हुन्छ ।)