कार्तिक २८ काठमाडौं । नेपालमा रहेको एक मात्र पुनर्बीमा कम्पनी राष्ट्रिय पुनर्बीमा कम्पनीको बीमा शुल्क र मुनाफा दुबै बृद्धि भएको देखिएको छ । आर्थिक वर्ष २०७६।०७७ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिएको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन र मुनाफा दुवै बृद्धि भएको छ ।
नेपाल पुनर्बीमा कम्पनीले चुक्ता पुँजिको आधा रकम जगेडा कोष र बीमा कोषमा संचिती गरेको छ । १० अर्ब चुक्ता पुजि रहेको पुनर्बीमा कम्पनीले बीमा कोषमा एक अर्ब ४७ करोड ५० हजार ९१ हजार रुपैयाँ र जगेडा कोषमा तीन अर्ब तीन करोड ७७ लाख रुपैयाँसहित कूल पाँच अर्ब पाँच करोड २८ लाख ३१ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ ।
गत असार मसान्तसम्ममा कम्पनीको निर्जिवन र जीवन बीमा व्यवसायबाट आर्जित खुद बीमा शुल्कमा पनि बृद्धि भएको छ । कम्पनीले निर्जिवन र जीवन बीमा गरी कूल छ अर्ब ६३ करोड २४ लाख २९ हजार रुपैयाँ असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन गरेको छ । जबकि अघिल्लो वर्ष यस्तो आय छ अर्ब ३१ करोड ८० लाख ४९ हजार रुपैयाँ थियो ।
कम्पनीले पुनर्बीमा कमिशन बापत भुक्तानी गर्नुपर्ने रकम केही घटेको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब पाँच करोड ८६ लाख ९२ हजार रुपैयाँ पुनर्बीमा कमिशन बापत विदेश पठाएको पुनर्बीमा कम्पनीले गत आवमा साढे दुई करोड रुपैयाँ भन्दा बढिले घटेर दुई अर्ब तीन करोड २० लाख चार हजार रुपैयाँ मात्रै विदेश पठाएको छ ।
सञ्चालन अवधीमा कम्पनीले एक अर्ब २३ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय एक अर्ब ६ करोड ५४ लाख र जीवन बीमा व्यवसाय १७ करोड १७ लाख रुपैयाँ गरी सो बराबरको खुद नाफा आर्जन गरेको वित्तीय विवरणले देखाएको छ । आर्थिक वर्ष २०७५।०७६ मा जम्मा ८७ करोड २० लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ४१।८८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा कूल दुई अर्ब ७७ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने एक अर्ब ५८ करोड रुपैयाँ बाँकी छ ।