कार्तिक २८ धनगढी । बैतडीमा गएराति भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान भएको छ ।
पाटन नगरपालिका–८ खोडपेमा पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको थियो ।
मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेका छन् । मृत्यु हुनेमा एक जना प्रहरी जवान समेत रहेका छन् ।
बैतडीको दोगडाकेदार–६ का प्रहरी जवान रणबहादुर चन्दको परिचय पत्रका आधारमा सनाखत भएको हो। त्यसैगरी नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल वडु र तारा गिरीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मध्य सात जनालाई धनगढी ल्याईएको छ भने अन्य २७ जनाको उपचार डडेलधुरा स्थित उपक्षेत्रीय अस्पतालमा भईरहेको छ । महेन्द्रनगरका लागि छुटेको उक्त बसमा ४५ जना सवार रहेको प्रहरीले बताएको छ ।