कार्तिक २७ काठमाण्डौं । कोरोना माहामारीका बीच पनि प्रभु बैंकको खुद नाफामा बृद्धि भएको छ । बैंकको यस आर्थिक बर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको आमदानी र खुदनाफा बृद्धि भएको देखिएको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट आय बढेसँगै अन्य सञ्चालन आम्दानीहरु पनि बढेका छन् ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २८ रुपैयाँ २७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३२ रुपैयाँ ९६ पैसा पुगेको छ। १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड सञ्चित छ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकको निक्षेप १ खर्ब २८ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा ९९ अर्ब ४१ करोड रुपैयाँबाट बढेर १ खर्ब १६ अर्ब पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ३.३२ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २.६७ प्रतिशतमा झरेको छ।