कार्तिक २६ एजेन्सी । चर्चित क्रिकेट लिग आईपिएलको च्याम्पियन बनेर ईतिहास रच्ने मुम्बई क्यापिटल्सको सपना अधुरै रहेको छ । गएराति फाईनलमा मुम्बई बिरुद्ध फितलो प्रदर्शन गर्दा उपाधी पहिलो पटक जीत्ने लक्ष्य पुरा हुन सकेन । मुम्बई पाँचौ पटक च्याम्पियन बन्न सफल भयो । गएराति युएईको दुबईमा भएको १३औं संस्करणको उपाधि भिडन्तमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्यो ।
मंगलबार दुबईमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले ५ विकेटको क्षतिमा १८।४ ओभरमा सहज रुपमा पार गर्यो। मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको योगदान दिए। उनले ५१ बलमा ५ चौका र ४ छक्का हिर्काए।
क्वान्टन डी ककले २० रन र सूर्यकुमार यादव १९ रनमा आउट भए। इशान किसनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै नटआउट ३३ रन बटुले। बलिङमा दिल्लीका एनरिच नोकियाले २ विकेट लिए भने कागिसो रबाडा र मार्कोस स्टोइनिसले १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १५६ रन मात्र जोड्यो।
दिल्लीका लागि कप्तान श्रेयस इयर र रिशव पन्तले अर्धशतक प्रहार गरे। इयरले ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ६५ रन जोडे। पन्तले ३८ बल खेल्दै ४ चौका र २ छक्का हिर्काउँदै ५६ रनको योगदान दिए।
खराब ओपनिङ गरेको दिल्लीका मार्कोस स्टोनिस पहिलो बलमै आउट भए। तेस्रो ओभरमा अजिन्का राहाणे २ रनमा आउट हुँदा अर्को ओभरमा शिखर धवन १५ रन बनाएर आउट भएका थिए।
महत्वपूर्ण तीन ब्याट्सम्यान चार ओभर नसकिदै २२ रन बनाएको स्थितिमा आउट भएपछि दिल्ली दबाबमा परेको थियो । बलिङमा मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए। पहिलो बलमै स्टोइनिसलाई आउट गरेका उनले ४ ओभरमा ३० रन खर्चिए। नाथन नाइलले २ विकेट र जयन्त यादवले १ विकेट लिए।