पर्सा, १९ कार्तिक । तिहार र छठ नजिकिदै जाँदा पर्साका सीमानाकाबाट ठूलो परिणाममा अवैध तरीकाले पटाका भित्रिरहेको पाईएको छ । अलौ लगायतका पर्साका अन्य साना नाकाबाट पटाका सहित अन्य सामाग्रीको तस्करी बढीरहे पनि त्यसलाई रोक्न नाका सुरक्षामा खटिएका सुरक्षाकर्मी सफल भएको देखिएको छैन ।
पर्सा जिल्लाको अलौ नाका हालको समयमा कपडा र केराउ तस्करीको अखडाको रूपमा परिणत भएको छ । नाकाखा खटिने सुरक्षाकर्मीले कमिसनको प्रलोभनका कारण नदेखेझै गर्ने गरेकाले ठूलो मात्रामा तस्करी भईरहेको स्थानीयको बुझाई छ । कपडा तस्करीसँगै पटका समेत भित्रिदा पनि सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी रकमकै लोभमा नियन्त्रणमा नलिएको बताईन्छ । स्रोतका अनुसार तस्करहरुले एकै रातमा ४० लाख बराबरको पटका भित्र्याएका छन् ।
सीमा नाकाको मुख्य जिम्मेवारी बहन गरिरहेका सशस्त्र प्रहरी बल नेपाललाई मासिक ५ लाख रूपैया तस्कर समुहले दिने गरेका छन भने जनपद प्रहरीलाई मासिक ४ लाख नजराना जाने गरेको तस्कर श्रोतले दाबी गरेको छ । स्थानीय बैझनाथ भनिनेले कपडाको तस्करी गर्नको निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मासिक ९ लाख दिए पश्चात् तस्करी कार्य सुचारू गरेका छन भने सुनिल भनिने तस्करले पनि स्थानीय प्रहरी प्रशासनलाई लाखौ रकम दिए पश्चात् केराउ तस्करीको कार्य सुचारू गरेका छन ।
सीमामा खटिएका प्रहरीले मात्र रकम लिएर ठुला वडा तस्करीको लाइन खुल्ला गर्न नसकेको कारण यस प्रहरीका माथिल्लो पदका अधिकारी समेत सामेल भएको दाबी तस्करी गर्दै आएका समुहका एक सदस्यको छ ।
प्रहरी चौकी श्रीसियाका प्रमुख प्रहरी नायब निरीक्षक गजानन्द साहको माध्यमले प्रदेश प्रहरीबाट खटिएको टोलिलाई नजराना पुगेको छ भने बोर्डर आउट पोस्ट अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीको माध्यमले सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकासम्म रकम पुगेको श्रोतको दाबी रहेको छ ।
यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी कृष्णभक्त ब्रम्हचार्यले उक्त तस्करीको बिषयमा आफुलाइ केही जानकारी नभएको र उक्त बिषयमा बुझ्ने बताए । उनले स्थानीय बि.ओ.पि.ले गल्ती गरे कारवाहीको भागिदार हुने भन्दै यस बिषयमा छानबिन गर्ने बताए ।