दशैको चर्चा, टिका र जमराको महत्व

दशैको चर्चा, टिका र जमराको महत्व

  • शनिबार, कार्तिक ८, २०७७
  • -विनोद पोख्रेल

  • 33.1K
    SHARES

धर्म हाम्रो गुण हो संस्कृति हाम्रो गहना हो यही धर्म र संस्कृति ले सिञ्चित हाम्रो समाज नै हाम्रो सभ्यता हो भने यिनै धर्म र संस्कृति भित्र भरिएका हाम्रा चाड, पर्व तथा परम्पराहरू हाम्रा पहिचान हुन् र यिनै हाम्रा धरोहर पनि हुन्। विश्वमै सायद धेरै भाषा, संस्कृति, पर्व र परम्पराहरू ले भरिएको देशको अग्रस्थानमा नेपाल पर्छ भन्नुमा अन्यथा न होला।त्यसै सन्दर्भमा दसैँ हिन्दू धर्मावलम्बीहरूको एउटा महत्त्वपूर्ण चाड हो।यसलाई बडा दसैँ तथा विजया दशमी को रूपमा समेत मनाइन्छ। नेपालमा राष्ट्रिय चाडको रूपमा समेत मनाइने दसैँ पर्व यथार्थमा हिन्दुहरूको मात्र नभएर नेपालीहरूकै एउटा मौलिक तथा धार्मिक सहिष्णुताले भरिएको पर्वको रूपमा समेत रहेको छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा बाट सुरु भएर पूर्णिमा सम्म यसलाई मनाइन्छ। दशैको पहिलो दिनलाई घटस्थापना भनिन्छ सोही दिन विधिपूर्वक जमरा राखी प्रत्येक दिन फरक फरक देवीहरूको स्थापना गरी नौ दिन सम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी शक्तीकास्वरूप देवीहरूको पूजा आराधना गरिन्छ जसलाई नवरात्री पनि भनिन्छ । दसौँ दिन अर्थात् विजया दशमीको दिन दुर्गा भगवतीको प्रसाद स्वरूप आफू भन्दा मान्यजन सँगको हातबाट टिका जमरा लगाई आशिष् थाप्ने गरिन्छ। टाढा टाढा बाट आउने आफन्तजन, बन्धु बान्धव तथा कुटुम्बहरूको सहजताको लागी दुर्गा देवीको प्रसाद स्वरूप पुर्णमाशीको दिन सम्म पनि टिका लगाउने परम्परा रहेको छ तर कतिपयले विजया दशमीको एक दिन “विजय” नामको मुहूर्त रहने र यो मुहूर्त काल विजयी तथा सिद्धिदायक हुने भएकोले यस दिन टिका लगाउनु र आशिस ग्रहण गर्नु अरू दिनको तुलनामा उत्तम मानिन्छ। पन्ध्रौँ दिन अर्थात् कोजाग्रत पुर्णमाशीको दिन विधिपूर्वक लक्ष्मीदेवीको पूजा  आराधना गरी दशैको विसर्जन गरिन्छ।यस पर्वलाई असत्य माथि सत्यको विजय पर्वको रूपमा समेत मनाइन्छ।

दसैँ पर्वको सन्दर्भमा विभिन्न चर्चा परि चर्चा समेत हुने गरेका छन्।कोही यसलाई विशुद्ध हिन्दुहरूको मात्र पर्व भन्छन् भने कोही नेपालको आफ्नै मौलिक पर्वको रूपमा मान्ने गर्दछन्।त्यसै गरी यसलाई वैदिक कालदेखि मान्दै आएको पर्वको रूपमा समेत व्याख्या गरेका छन्।विभिन्न इतिहासकार तथा विद्वानहरूले फरक फरक धारणा राखेता पनि यो एउटा असत्य माथि सत्यको विजय भएको खुसीयाली को स्वरूपमा मनाउने पर्व हो भन्नुमा अत्युक्ति नहोला।हिन्दू धर्मको पौराणिक मान्यता अनुसार देवी दुर्गाले विनाशकारी दानव महिषासुरको वध गरेर धर्मको स्थापनाको साथै असत्यमाथिको यो विजयलाई नै मानव जातिले दश दिनसम्म धार्मिक अनुष्ठान गरी सत्यको पुनर्स्थापना भएको दिनको रूपमा सम्झन्छन् र देवी प्रति आदर भाव दर्साउन यो उत्सव मनाइएको हो भनेर भनिन्छ भने दशैको प्रसङ्ग रामायणसँग पनि जोडिन आउँदछ । मर्यादा पुरुषोत्तम रामले राक्षस रावणको वद गर्न सफल भए पश्चात् धर्ममाथि भएको विजय स्वरूप मनाइएको पर्वको रूपमा यसलाई मानिन्छ । यस पर्वले अधर्मी माथि धर्मले रक्षा गर्ने विश्वास भए बाट सम्पूर्ण जगले हर्ष प्रकट गरेको दिन सँग सम्बन्ध राख्दछ भन्ने विश्वास गरिन्छ। जे होस दसैँ चाडले मानिसलाई सद्बुद्धि प्रदान गरी अनुशासन र मर्यादाको पाठ सिकाई धर्मप्रति निष्ठा भाव राख्न मार्ग निर्देश गर्दछ र यसै कारण बडा दशैको महत्त्व, मूल्य र मान्यता अलौकिक छ अमर छ र सनातनी छ भन्नेमा हिन्दू धर्मावलम्बीले विश्वास राख्ने गर्दछन्।

सामाजिक मान्यता अनुसार वर्षको दश महिना सम्म खेती किसानी गरेर आराम र मनोरञ्जन तथा विश्राम लिन यस पर्व मनाइएको हो भनिन्छ। संसार भर मानव संस्कृतिमा रहेका दुई मुख्य पर्व वसन्त र शरद महोत्सव पर्वको रूपमा मनाईन्छन। मानव जातिको बिचमा पहिले शरद ऋतु सबभन्दा राम्रो समय भन्ने मानिन्छ। स्वच्छ मौसम, वर्षा नभएको, हिलो–धूलो नभएको, नदीनालाहरू बिस्तारै तर्न सकिने, डुङ्गाहरू खियाउन सकिने, बाढी–पहिरोको न्यूनता जस्ता कारणले प्रिय ऋतु बन्यो । यो समयमा खेती किसानी सकेर घर आँगन लिपपोत गरी रङ्गी विरङ्गी फुलहरूका साथ मनलाई समेत आनन्दमय बनाउँदै आफ्ना बन्धु बान्धव गोत्रहरू एक आपसमा भेटेर खुसीयाली मनाउने पर्वको रूपमा समेत यसलाई लिइन्छ।

दर्शनशास्त्री विष्णु प्रसादका अनुसार, दसैँमा कुनै पुरुष देवताको पूजा नगरेर काली माता, नवदुर्गा र सप्त दुर्गा गरी तिन मातृ शक्तिको पूजा गरिन्छ । यो पूजा मातृ प्रधान समाजको बेलामा मातृत्व भावलाई सम्मान गरेर गरिएको पूजा थियो। यो पूजा हिन्दुहरूबाट नभई किराँतहरूबाट सुरु भएको हो। किराँतहरू मातृत्व पूजक र देवी पूजक थिए । तागेरा निङमाङ फुमाङ उनीहरूको सर्वोच्च देवी थिइन्, तिनको सम्झनामा अहिले पनि पूजा हुन्छ। प्राचीन संस्कृति भित्र रहेका यस्ता कुराले दसैँमा मूलतः देवी पूजा गरिन्छ भन्ने देखाउँछ र दसैँमा गरिने दुर्गाको पूजा पनि यस्तै भनाई सँग पनि जोडिएको मानिन्छ।

देशैमा लगाइने टिका र जमरा को बारे समेत विभिन्न भनाई रहेको छ। दश दिन सम्म पूजाआजा गरी त्यसको प्रसादको रूपमा दशैको दिनमा चामलमा दही, चिनी र रातो रङ्ग वा अबिर राखी अक्षता तयार गरिन्छ र आफू भन्दा ठुला मान्यजन सँग आशीर्वाद लिन निधारमा टिका थापिन्छ। यथार्थमा पहिला क्षत नभएको अन्न वा चामललाई अक्षता भनिन्थ्यो त्यसैले अक्षता बनाउँदा चन्दन घोट्ने काठले घोटेर सग्लो चामल चोखो रूपमा निकालिन्थ्यो । पछि सिलौटाको डुङ्गाले घोटेर बनाउने चलन पनि आयो । अहिले धेरैजसोले मिलमा कुटेको चामलबाटै अक्षता बनाउने गरेको पाइन्छ। सुरुमा सेतो वा पहेँलो अक्षता नै लगाउने चलन थियो जुन अहिले पनि कुनै कुनै जातीहरूमा यथावत् सेतो वा पहेँलो अक्षता लगाउने चलन रहेको छ। रातो रङ्ग शक्ति र विजयको प्रतीक भएकोले पछि रातो रङ्ग को प्रयोग गर्न थालेको भन्ने विद्वानहरूको धारणा रहेको छ। टिका निधारको मध्य भागमा दुवै आखिभौ को बिचमा लगाइन्छ यस स्थानलाई मानवको तेस्रो नेत्र रहेको स्थान पनि भनिन्छ जसको अर्थपूर्ण महत्त्व रहेको छ। मानिसको मस्तिष्कमा रहेको विकार हटाई ज्ञान, बुद्धि र विवेक रुपी तेस्रो आँखा खुलेर घन, धान्य, बुद्धि ,स्वास्थ्य लगायत सबै कुराले सर्व सम्पन्न बन्न प्रेरित गरोस् भन्ने आशयले टिका लगाइने गरिन्छ भन्ने भनाई रहेको छ।तेस्रो आँखा आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ भन्ने विश्वास गरिन्छ।

त्यसै गरी जमरा को सन्दर्भमा, दशैको प्रथम दिन अर्थात् घटस्थापना को दिन घर मित्र पूजा कोठामा माटो र बालुवा मिसाई त्यसमा जौ को जमरा राख्ने गरिन्छ ( आआफ्नो प्रचलन अनुसार कहीँ मेकै तथा धान पनि मिसाउने गरिन्छ) कोठाभित्र पर्याप्त उज्यालो नहुनाले यसको रङ्ग पहेँलो हुन्छ।दशैको दिन यसलाई काटेर टिका सँगै सिरमा लगाइन्छ।जौ को प्रयोग बारे विभिन्न विद्वानका आ आफ्ना भनाई तथा व्याख्या रहेका छन् । जौ लाई संस्कृतमा “यव” भनिन्छ खाद्य पदार्थको दृष्टिले जौ पौष्टिक पदार्थ मानिन्छ। सबैभन्दा पहिला अन्नको रूपमा जौ को उत्पत्ति भएको र यसैको सम्मान स्वरूप यसलाई शिरमा राखेर यसको महत्त्व दशाईएको हो भन्ने विश्वास समेत रहेको छ। त्यसै गरी पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ। पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भनेको हुनाले पनि यसको धार्मिक महत्त्व रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञ यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ ।यसै कारण होला यज्ञ यज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्त्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको विधि उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।  चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्बुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्याउछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने तर्क वैज्ञानिकहरूले गरेका छन् ।

त्यसै गरी संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग का अनुसार दसैँ र यसका कर्मलाई कृषिसँग जोडिएको विधि हो भन्दै जमरालाई शृङ्गारका रूपमा पनि व्याख्या गर्नु हुन्छ।वहाँका अनुसार जमरा शब्द संस्कृतबाट आएको हो संस्कृतको “यवरा” बाट नै जमरा भएको हो। जमरा सुनौलो हुन्छ, विजय पछि दुर्गाको पूजा अर्चना र शोभा शृङ्गारका लागि जमरा प्रयोग अनिवार्य गर्न थालियो। यो चाड हाम्रो खेतीपातीसँग जोडिएको छ। जौ उमार्नु एक कृषि कर्म भएकोले हिमाल, पहाड, तराई जहाँ पनि सजिलै फलाउन सकिने जौ अर्थात् जमराले हाम्रो भौगोलिक विविधतालाई बाँधेको छ। एकताको सूत्र भएकै कारण विशेष पर्वमा जमरा लगाउने चलन थालिएको हुनसक्छ भन्ने भनाई वहाँको रहेको छ। नारी सृष्टिका स्रोत हुन्, त्यस्तै सृष्टि जोगाउन जौले सहयोग गर्‍यो। त्यसैले दुर्गा पूजा हुँदा जौलाई पनि सम्मान दिन थालिएको हुनसक्छ त्यसै गरी हरियो त हामीले वर्षभरि प्रयोग गरिरहेकै हुन्छौँ, सबै बोटबिरुवा हरियो हुन्छ, तर घरभित्र विधिपूर्वक राखिएको जमरा सुनौलो र अरूभन्दा फरक देखिने भएकोले पनि जमराले विशेष महत्त्व पाएको हो।आदर, सम्मान, प्रेम, स्नेह, हर्षोल्लास, शृङ्गार सबैका लागि जमरा महत्त्वपूर्ण हुने र पहेँलो वा सुनौलो जमराको शोभा भिन्न हुने भएकोले यसको प्रयोग भएको हो भन्ने तर्क संस्कृतिविद् ग्वंग ले उल्लेख गर्नु भएको छ।

दसैँ पर्व लाई हिन्दूहरुको मात्र पर्व मान्ने हो भने धेरै हिन्दू धर्माबलम्बी रहेको भारतका अधिकाम्स क्षेत्रमा यसको महत्त्व देखिँदैन त्यसै गरी नेपाली मात्रको मौलिक भनि मान्य हो भने भारतका उत्तरा खण्ड तथा पहाडी क्षेत्रमा टिका जमरा लगाउने चलन रहेको छ भने पश्चिम भारत तथा बंगलादेश हिन्दूहरुले नौ दिन सम्म धूमधाम का साथ दुर्गा पूजा गर्ने गरेको देखिन्छ।त्यसै गरी भारतका केही सहरहरूमा दशहरा पर्वको रूपमा समेत मनाउने गरेका छन्।यथार्थमा दशैँ सनातन काल देखि मनाउँदै आएको पर्व हो ।भारतमा लामो समयसम्म मुसलमान र त्यसपछि अङ्ग्रेजको शासन रह्यो र त्यसको प्रभावका कारण त्यहाँ यो प्रचलन हराएको हो। पहिले त भारतीयहरूले पनि लगाउँथे भन्ने कुरा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् जगमान गुरुङ ले उल्लेख गर्नु भएको छ।

दसैँ कहाँ बार शुरु भएको भन्ने सन्दर्भमा ईरान इराकमा समेत नयाँ वर्ष “नौरोज” मनाउँदा जमराको प्रयोग गर्ने र पाकिस्तान, अफगानिस्तान, लगायत पुरेशियन र मध्य एसियाली देशमा नौरोज पर्व मनाइने हुँदा यो पर्व को सांस्कृतिक र धार्मिक प्रथाहरूको जरो खोतल्दै जाँदा इराक इरान बाटै आएको हुन सक्छ भनी पूर्वीय धर्म र संस्कृतिको अध्ययन गरेका इतिहासकारहरू भने गरेका छन्। यस हिसाबले नेपालमा अहिले चलनचल्तीमा रहेका धेरै संस्कृति परम्पराहरु पश्चिमबाट पूर्व नै सरेका हुन् भन्ने तर्क वहाँहरूको रहेको छ। यसै सन्दर्भमा वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ चाहिँ जमराको चलन कहाँबाट सुरु भयो भन्ने बुझ्न जौको खेती कताबाट सुरु भयो भन्ने खोज्नुपर्ने बताउँनु हुन्छ।वहाँका अनुसार जौको खेती अहिलेको इजिप्ट, इराक र इरानतिर बाटै भएको भन्ने आधार पाइएकाले जमराको चलन उतैबाट आएको हुन सक्छ। रारा तालमा जापानीहरूले गरेको अनुसन्धानका क्रममा त्यहाँको पिँधमा रहेको माटोमा जौको पराग कणहरू भेटिएकोले नेपालमा पश्चिमतिर बाटै जौ आएको भन्न सकिन्छ।श्रेष्ठका अनुसार धेरै अन्नहरूलाई कहिले मानिसले जङ्गली अवस्थाबाट आफैँले घरेलु खेतीका रूपमा अपनाए भन्ने खोज्दै जाँदा इरान-इराक तिरै पुगिन्छ।.
यसरी जे जसरी अध्ययन अनुसन्धान सोध खोज गरेता पनि दसैँ हाम्रो सनातनी पर्व हो भन्ने मा विवाद देखिँदैन। आपसी सद्‌भाव भाइचारा र एक आपसको विश्वास नै यस पर्वको महत्त्व रहेको छ। पर्वलाई आडम्बरी भन्दा आफ्नो संस्कृति र परम्परालाई बचाउँदै एउटा सांस्कृतिक पहिचानको रूपमा असत्यमा सत्यको जित हुन्छ भन्ने विश्वासका साथ मनाउनु पर्छ यहि नै दसैँ पर्वको विश्वास रहेको छ। नव दुर्गा भवानीले सबैको रक्षा गरुन् शुभ विजया दशमी २०७७!!
-विनोद पोख्रेल
हाल: टेक्सास
मिति :कार्तिक ७, २०७७

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी