प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैका बेला कतै बत्ती ननिभोस्

प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैका बेला कतै बत्ती ननिभोस्

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

काठमाडौँ, ६ कात्तिक ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालीको महान् चाड बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग आज बैठक आयोजना गरी मन्त्री पुनले उक्त निर्देशन दिनुभएको हो ।
“दशैंँका बेला कहीँं पनि विद्युत् काटिने समस्या नआओस्”, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले भन्नुभयो, “मलाई विश्वास छ, ग्राहकबाट विद्युत् प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन ।”
प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टोली रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो । उहाँले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गर्नुभयो । “जहाँ समस्या आउँछ, त्यहाँ तत्काल समाधान गराउनूस्”, निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भन्नुभयो, “त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निर्णय गर्नुपर्ने भए मलाई खबर गर्नुस् ।”
मन्त्री पुनले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत चैतमा लकडाउन घोषणा गरेलगत्तै प्राधिकरण सञ्चालक समितिले भारप्रेषण केन्द्रसहित संवेदनशील निकायका प्राविधिक कर्मचारीलाई आइसोलेशन वा क्वारेन्टिनमा राखेर काम गराउने निर्णय गरेको स्मरण गर्दै पूर्वतयारीकै कारण विद्युत् सेवा प्रवाह प्रभावित नभएकामा खुशी व्यक्त गर्नुभयो ।
“भारप्रेषण केन्द्र, नो लाइट र प्राधिकरणको मुख्यालयमा महामारी फैलिए कसरी प्रणाली जोगाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो”, मन्त्री पुनले भन्नुभयो, “ सञ्चालक समितिले योजनाबद्ध रुपमा आफ्नै आइसोलेशन र क्वारेन्टिन बनाउने निर्णय गरेका कारण समुदायमा व्यापक रुपमा कोरोना महामारी फैलिँदासमेत प्राधिकरणको सेवा अवरुद्ध भएको छैन ।”
महामारीका कारण ९० लाख विद्यार्थीले घरबाटै अनलाइन कक्षा लिइरहेको र तीमध्ये कतिपय परीक्षामा समेत सामेल भइरहेकाले विद्युत् सेवा अनियमित हुँदा उनीहरुको भविष्यमा के असर पर्छ भन्नेबारे सोचेर काम गर्नुपर्ने मन्त्री पुनको भनाइ थियो । उहाँका अनुसार बडादशैँ सकिएपछि तिहारका लागि पुनः अर्को बैठक बसेर योजना तय गरिने छ ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले राष्ट्रि«य प्रणालीमा पर्याप्त मात्रामा विद्युत् उपलब्ध रहेको जानकारी दिँदै विद्युत् सेवा नियमित गराउनका लागि इमान्दारीपूर्वक काममा खटिन प्राधिकरणका सबै तहका कर्मचारीलाई आग्रह गर्नुभयो ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले कोरोना महामारीका कारण उद्योगहरु पूर्ण क्षमतामा नचलेका कारण विद्युत् मागको चाप गत वर्षको यही समयका तुलनामा कम रहेको जानकारी दिनुभयो । माग कम रहेको तथा वितरण र प्रसारणको अवस्था राम्रो रहेकाले चाडपर्वका समयमा विद्युत् सेवा अनियमित हुने कुनै सम्भावना नरहेको कोइरालाको भनाइ थियो ।
भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईले हाल प्राधिकरण र निजी क्षेत्रको गरी एक हजार ११० मेगावाट विद्युत् राष्ट्रि«य प्रसारण प्रणालीमा रहेको र माग भने सातदेखि आठ सय मेगावाटसम्म मात्र रहेको बताउनुभयो । विद्युत् पर्याप्त रहेकाले सेवा अनियमित हुने कुनै सम्भावना नरहेको भट्टराईले स्पष्ट गर्नुभयो । प्राधिकरण, प्रसारण निर्देशनालयका प्रमुख चौधरीले प्रणालीमा कुनै समस्या नरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी