असोज ३० काठमाण्डौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले हात पारेका छन् भने ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खालि भएको छ। गोलाप्रथाबाट शेयर बाँडफाँट भएको हो ।
इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।
पछिल्लो समय लगानीकर्ता प्राथमिक बजारमा आकर्षित हुँदा आईपिओमा आवेदक दिनेहरुको संख्या ठूलो हुँदै गएको छ ।