जान्नै पर्ने हिन्दु धर्मका महत्वपूर्ण तथ्यहरु

जान्नै पर्ने हिन्दु धर्मका महत्वपूर्ण तथ्यहरु

  • सोमवार, अशोज २६, २०७७
  • -बिनोद पोख्रेल 

  • 87.3K
    SHARES

हामी हिन्दू धर्मलाई मान्छौ र त्यसको अनुयायी हौ भने हाम्रा धर्मग्रन्थका बारे संछिप्त जानकारी राख्नै पर्ने हुन्छ। धर्म वा त्यसमा उल्लेख गरिएका व्याख्या, विश्लेषणहरू वा मान्यताहरू पूर्ण रूपमा धारण गर्न सकिएला वा नसकिएला अर्थात् विश्वास वा अनुसरण गर्न सकिएला नसकिएला त्यो नितान्त व्यक्तिगत स्वतन्त्रता को कुरा हो। तर त्यस वारे सामान्य जानकारी भने राख्न पर्नेनै हुन्छ भन्ने मान्यता मैले राख्दछु।कुनै पनि धर्मग्रन्थहरू ज्ञानका भन्डार हुन् र आधुनिक विज्ञानका अनुसन्धानका आधारहरू हुन् भन्नुमा अतिसयोक्ति नहोला। यस्ता ज्ञानहरूले हाम्रो जीवन पद्धति बदलिन सक्छ । हाम्रो सोच विचार बदलिन सक्छ र हाम्रो घर परिवार र समाजमा समेत सकारात्मक प्रभाव पर्न सक्छ। मैले यस बारे गहिरो जानकारी राख्न लागेको धेरै भएको छैनl दुई चार वर्ष अगाडी को कुरा हो मलाई आफ्नो धर्मग्रन्थको बारे राम्रो सँग जानकारी नहुँदा लज्जा बोध भएको थियो। एक जना मुसलमान मित्र थिए उनले हरेक दिन अफिसमै समेत आफ्नो निश्चित समयमा प्रार्थना गर्ने गरेको मैले देखेको थिए।एक दिन प्रसङ्गवश धर्म ग्रन्थको बारेमा कुरा भयो । उनले मलाई सोधेका थिए, तिमीहरूको धर्मग्रन्थ कुन हो? मैले सहजै जवाफ दिए वेद भनेर जुन मलाई थाह थियो। उनले मलाई प्रति प्रश्न गरे वेद धर्मग्रन्थ हो भने गीता रामायण महाभारत उपनिषद तथा स्मृतिहरू के हुन ? म अलमलमा परे मलाई थाह थियो यी हाम्रा धार्मिक ग्रन्थहरु हुन भन्ने तर थाह थिएन यी कसरी आएका हुन भन्ने । मैले अलिकति सतही जबाफ दिए तर मलाई भन्दा धेरै हाम्रा ग्रन्थको बारे उनलाई ज्ञान रहेछ l त्यसै दिन मलाई महसुस भयो कि हामीले पूर्ण रुपमा माने पनि नमाने पनि आफ्नो धर्म ग्रन्थको बारे जानकारी राख्नु पर्ने रहेछ भन्ने र त्यसै दिन देखि यस बारे सोध खोज गर्दै केही जानकारी राख्ने प्रयास गरेको हुँ। सनातन धर्म जसलाई पछि हिन्दू धर्म पनि भनियो यो ब्रह्माण्डको सबै भन्दा पुरानो धर्म हो। विभिन्न विद्वानहरूले फरक फरक धारणा राखे पनि भारतका धर्मशास्त्रका इतिहासकार पि बि काणेका अनुसार सनातन धर्मको इतिहास ईसा पूर्व ४ हजार वर्ष भनेर मानेका छन् I यस धर्मको मूल ग्रन्थ वेद नै हो।जसको अर्थ ज्ञान हो।त्यसैले वेदलाई ज्ञानको भन्डार भनिन्छI संसारका हरेक धर्मको श्रोत वेदलाई नै मानिन्छ भने मानव सभ्यताकै सबै भन्दा पुरानो लिखित दस्ताबेज पनि वेद नै हो । वेदमा, ब्रह्मा विष्णु, महेश्वर, देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीतिरिवाज आदि सबै विषयसँग सम्बन्धित ज्ञानले भरिएको पाइन्छ ।सर्व प्रथम परमेश्वरले ब्रह्माजी लाई वेद सुनाउनु भएको थियो l जसलाई श्रुति पनि भनिन्छ अर्थात् श्रवण गरेर जानिएकोले श्रुति भनिएको हो l सुरुमा वेद एउटा थियो पछि यसको व्याख्या गर्न तथा अध्ययन गर्न सहजताको लागि चार भागमा विभाजन गरिएको भन्ने पनि विद्वानहरूको भनाई रहेको छ भने ब्रह्माजी को चार वटा मुखबाट चारबाट वेद निस्किएका हुन भन्ने पनि भनिन्छ। वेद वैदिक भाषामा लेखिएको थियो र यसका शब्दहरू अर्थ र भावले भरिएका थिए l यही वेदलाई सरल रूपमा व्याख्या गर्ने उपनिषद् कलेखिए भने ब्रह्माजी बाट ऋषि मुनीहरूले वेदको बारेमा जे सुन्नुभयो र त्यसलाई जसरी विभिन्न विषयगत आधारमा बुझेर सहजरुपमा व्याख्या गरेर लेख्नुभयो त्यसलाई स्मृति भनियोl श्रुति र स्मृतिलाई धर्मशास्त्रका दुई आँखा पनि भन्ने गरिन्छ। हाम्रो धर्म जगत् र जीवन दर्शनका बारे धर्मको व्यावहारिक ज्ञान दिन विभिन्न कृति महाकाव्यहरूको सृजना गरियो तिनीहरूलाई पुराण तथा उपपुराण भनिन्छ। त्यसै गरी श्रुति, स्मृति, उपनिषद् तथा स्मृतिहरू पछि धर्मसूत्र लेखियो। हिन्दू धर्म ग्रन्थको संक्षिप्त दार्शनिक स्वरूपको भगवान् श्रीकृष्ण दर्शनको निचोडको रूपमा जुन धर्म ग्रन्थ लेखियो त्यसलाई भगवत गीता भनिन्छ। जसलाई महाभारत पुराणको एउटा अध्यायमा श्री कृष्ण भगवानले अर्जुनलाई दिएको उपदेशको प्रशङ्गको श्रोतको रूपमा पनि लिइएको छ।

श्रुति (वेद) :ऋग्वेद, यजुर्वेद, सामवेद तथा अथर्ववेद गरी जम्मा चार वाट वेद रहेका छन्। चारै वेदका उपवेद पनि छन् । ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्ववेद तथा अथर्ववेदको स्थापत्यवेद उपवेद हुन् । वेदका मन्त्रहरूलाई ऋचा भनिन्छ।

ऋग्वेद – ऋक् को अर्थ हुन्छस् स्थिति एवं  ज्ञान।यसमा भौगोलिक स्थिति एवं  देवताहरूलई आवाहन गर्ने मन्त्हरू छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना स्तुति एवं देवलोकमा उनीहरूको  स्थिति को वर्णन गरिएको छ यसमा जल  चिकित्सा, वायु चिकित्सा, र्सौर्य चिकित्सा, मानस चिकित्सा एवं हवन द्वारा चिकित्साका विषयमा यावत् जानकारी गराइएको छ ।
यजुर्वेद- यजु को अर्थ हुन्छ गतिशील  आकाश एवं कर्म।  यजुर्वेदमा  विभिन्न यज्ञ विधि एवं यज्ञहरूमा प्रयोग गरिने मन्त्रहरू छन्। यसमा तत्व ज्ञान अर्थात्  रहस्यमयी ज्ञानको वर्णन पनि गरिएको छ। जस अन्तर्गत ब्रह्माण्ड, आत्मा, ईश्वर एवं  पदार्थको ज्ञान पर्दछन् यो वेदका दुई शाखा शुक्ल यजुर्वेद एवं कृष्ण यजुर्वेद छन्।
सामवेद- साम को अर्थ हुन्छ- रूपान्तरण एवं सङ्गीत । यो वेदमा ऋग्वेदकै ऋचाहरूको सङ्गीतमय रूप रहेको छ । यसमा सविता, अग्नि, इन्द्र आदि देवताको उल्लेख पाइन्छ । यसमा शास्त्रीय सङ्गीत एवं नृत्यको उल्लेख गरिएको छ । यो वेदलाई सङ्गीत शास्त्रको मूल स्रोत मानिन्छ। यसमा सङ्गीतको विज्ञान तथा मनोविज्ञानको वर्णन पनि गरिएको छ ।

अथर्ववेद- थर्वको अर्थ कम्पन हो भने अथर्व को अर्थ हुन्छ, अकम्पन। यो वेदमा रहस्यमयी विद्या, जडीबुटी, जादु तथा चमत्कार, आयुर्वेद आदिको उल्लेख गरिएको छ। यसमा भारत वर्षिय परम्परा एवं ज्योतिषीय ज्ञानको बारे समेत छ उल्लेख गरिएको छ।
स्मृति: ब्रह्माजीले जुन वेद ऋषि मुनिहरूलाई सुनाउनु भयो र ती ऋषिमहर्षिले स्मृतिको आधारमा ई.पु. ५०० वर्ष अघि लेखिएको थियो। यो नै हिन्दू मानव निर्मित धर्मग्रन्थको पहिलो लिखित ग्रन्थ हो र यसलाई वेद पछिको धर्म ग्रन्थको रूपमा लिइन्छ। पहिलो स्मृतिको रुपमा मनुले सामाजिक परम्परा रितितिथी बाध्ने आधारमा सुनेको कुरालाई संझेर लेखेका हुन।केही अन्य सानातिना स्मृतिहरु भएपनि पुख्यरुपमा २४ स्मृतिहरू प्रसिद्ध छन् ।
१)मनुस्मृति, २) याज्ञवल्क्यस्मृति, ३) अत्रि स्मृति, ४) विष्णु स्मृति, ५) हारीत स्मृति, ६) औशनस स्मृति, ७) अंगिरा स्मृति, ८) यम स्मृति, ९) कात्यायन स्मृति, १०) बृहस्पति स्मृति, ११) पराशर स्मृति, १२) व्यास स्मृति, १३) दक्ष स्मृति, १४) गौतम स्मृति, १५) वशिष्ठ स्मृति, १६) आपस्तम्ब स्मृति, १७) संवर्त स्मृति, १८) शंख स्मृति, १९) लिखित स्मृति, २०) देवल स्मृति, २१) असित स्मृति, २२) शतातप स्मृति, २३) विश्वामित्र स्मृति, २४) नारद स्मृति 
 
उपनिषद्: 
उप–नी–षद् को अर्थ हुन्छ गुरुको चरण नजिक आसनमा बस्नु। उपनिषद वेदको सार हो। सारको अर्थ निचोड वा संक्षिप्त हो । उपनिषद आध्यात्मिक विचारको आधारभूत आधार हो, हिन्दू तथा बुद्ध धर्मको आध्यात्मिक दर्शनको स्रोत हो। ईश्वर छ कि छैन, त्यहाँ आत्मा छ कि छैन, ब्रह्माण्ड स्वरुप तथा दर्शन, योग, ध्यान, समाधि, उद्धार आदि सबै चीजहरू उपनिषदमा भेटिन्छन्। यसरी उपनिषदहरूलाई वेदको ज्ञान काण्ड मानिन्छ । वेदको अन्तमा राखिएकोले वेदान्त पनि भनिन्छ। उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई रहस्य विद्या पनि भनिन्छ। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो वैदिक संस्कृत पनि भन्ने गरिन्छ। उपनिषद्हरु ११८० रहेका थिए ती मध्ये धेरै लोप भएर गइसके भने अहिले १०८ उपनिषदहरू सुरक्षित रहेका छन्।१०८ मद्ये तलका १३ उपनिषद् लाई मुख्य उपनिषद् को रूपमा मानिन्छ। १)ईशावास्योपनिषद्, २) केनोपनिषद्, ३) कठोपनिषद्, ४) प्रश्नोपनिषद्, ५) मुण्डकोपनिषद्, ६) माण्डूक्योपनिषद्, ७) तैत्तरीयोपनिषद्, ८) ऐतरेयोपनिषद्,९) छान्दोग्योपनिषद्, १०) बृहदारण्यकोपनिषद्, ११) श्वेताश्वतरोपनिषद्, १२) कौशितकी उपनिषद्, १३) मैत्रायणी उपनिषद्
पुराण तथा उपपुराण: “पुराण”को शाब्दिक अर्थ पुरानो वा प्राचीन हो। जसरी ऋषि मुनिहरू द्वारा वेद सुनेर त्यसको स्मरण गर्दै स्‍मृतिहरु लेखिए तिनै स्‍मृतिहरु को आधारमा धर्मलाई सहज र सरल भाषामा बुझाउन विभिन्न कथा तथा लयमा आधारित काव्यहरू सिर्जना गरियो तिनलाई पुराण तथा उप पुराणको रूपमा लिइएको छ। यस्ता पुराणहरू प्राचीन भक्ति ग्रन्थको रूपमा धेरै महत्त्वपूर्ण मानिन्छ। अठार भागमा रहेका यी पुराणहरूमा विभिन्न देवीदेवताहरूलाई पाप र सद्गुण, धर्म र अधर्म, कर्म र कार्यको केन्द्रको रूपमा भनिएको छ। केही पुराणहरूले सृष्टिको सुरुदेखि अन्तसम्म विवरणहरू दिएका छन्। पुराणमा उल्लेखित विषयहरूको कुनै सीमा छैन। यसले ब्रह्माण्ड, देवताहरूको वंश, राजा, नायक, ऋषि मुनिको वंशावली, लोक कथा, तीर्थयात्रा, मन्दिर, चिकित्सा, खगोल विज्ञान, व्याकरण, खनिज विज्ञान, हास्य, प्रेम कथा, साथै ईश्वर शास्त्र र दर्शन वर्णन गरिएको छ। पुराणहरूलाई ब्रह्मा, विष्णु र शिव गरी तिन भागमा विभाजन गरिएको छ भने उप पुराणहरू पनि धेरै रहेका छन्।यी पुराणहरूलाई पनि हिन्दु धर्मका महत्त्वपूर्ण ग्रन्थको रूपमा लिइन्छ। धेरै पुराणहरू पाँचौँ शताब्दी पछि लेखिएका हुन भन्ने कुरा पुराण सम्बन्धी ईतिहासकारहरु बताउँछन्।
१८ महा पुराणहरु :क) सात्विक महापुराण : जुन विष्णु भगवान् सँग सम्बन्धित रहेका छन् । १) विष्णु पुराण, २) श्रीमद्भागवत् पुराण, ३) नारद पुराण, ४) गरुड पुराण, ५)पदम पुराण, ६) वराह पुराण
ख) राजस पुराण: जुन ब्रह्माजी सँग सम्बन्धित रहेकाछन । १) ब्रह्म पुराण, २) ब्रह्माण्ड पुराण, ३) ब्रह्मवैवर्त पुरा ४) मार्कण्डेय पुराण, ५) भविष्य पुराण, ६) वामन पुराण ग) तामस पुराण: जुन शिवजी सँग सम्बन्धित रहेका छन्। १) वायु पुराण, २) लिङ्ग पुराण, ३) स्कन्द पुराण, ४) अग्नि पुराण, ५) मत्स्य पुराण, ६) कूर्म पुराण
१८ उपपुराणहरु: १) सनत्कुमार, २) नरसिंह, ३) कपिल, ४) कालिका, ५) साम्ब, ६) पराशर, ७) महेश्वर, ८) सौर, ९) नारदीय, १०) शिव, ११) दुर्वासा, १२) मानव, १३) अनुशासन, १४) वरुण, १५) भसिष्ठा, १६) देवी-भागवत, १७) नंदी, १८) आदित्य
भागवत गीता: वेदको सार उपनिषदलाई मानिन्छ भने उपनिषद तथा स्‍मृतिहरु र विभिन्न पुराण उप पुराण अर्थात् हिन्दू धर्म ग्रन्थको सार तत्त्व भागवत गीतालाई मानिन्छ। करिब ५००० वर्ष अगाडी भएको महाभारत युद्धमा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै गीता हो। जुन कुरा महाभारत पुराणमा समेत उल्लेख गरिएको छ। यसलाई भक्ति, ज्ञान र कर्म मार्गको मिश्रणको रूपमा समेत लिइन्छ। यसले यम-नियम र धर्म कर्मको बारेमा कुरा पनि गर्छ। यसमा १८ अध्याय र ७ सय श्लोक रहेका छन्। हिन्दु धर्ममा गीताको स्थान उपनिषद् र धर्मसूत्रको जस्तै छ। उपनिषद्लाई गाईको रूपमा लिँदा गीतालाई त्यसको दूध मानिन्छ। गीताले सारांसमा उपनिषदको अध्यात्मलाई स्वीकार गर्दछ।यसरी वेदको ब्राह्मणभाग र उपनिषदहरूको अध्यात्म दुवैको विशिष्ट सामग्री गीतामा समाहित छ।यथार्थमा गीतामा सृष्टि उत्पत्ति, जीव विकास, हिन्दू सन्देशवाहक अनुक्रम, मानव उत्पत्ति, योग, धर्म, देवता, भगवान्, ईश्वर, , पूजा, प्रार्थना, यम-नियम, राजनीति, युद्ध, उद्धार, अन्तरिक्ष, आकाश, पृथ्वी, संस्कार, राजवंश, कुल, नीति, अर्थ, विगत जन्म, जीवन व्यवस्थापन, राष्ट्र निर्माण, आत्मा, अनुष्ठान तथा सबै प्राणीहरू बिच मित्रताबारे उल्लेख गरिएको छ। ब्रह्म (भगवान्) भनेको एउटा रूप हो भनी गीतामा नै भनिएको छ। यदि हामीले गीता बारम्बार पढ्यौ भने मात्र यसको ज्ञानको रहस्य बुझ्न सकिनेछ। गीताको प्रत्येक शब्दमा ज्ञानको ज्योति रहेको छ र यसका हरेक शब्दहरूको  छुट्टै ग्रन्थ लेख्न सकिन्छ।गीतालाई पाँचौँ वेद पनि भनिन्छ।
हाम्रा यी सबै धर्म ग्रन्थ सनातनी हुन श्रुति तथा स्मृतिबाट पछि लेखिएका हुन।यिनीहरूको भाग,खण्ड, अनुच्छेद, श्लोक र शब्दहरूको स्मरण गर्न सहज हुने गरी सङ्ख्यात्मक रूपमा संयोजन तथा व्यवस्थापन गर्ने काम वेद व्यासले गरेका हुनाले वेदको रचयिता वेदव्यास भनेर पनि भनिन्छ। वेदको जुन मूल ग्रन्थ थियो त्यो अहिले पनि पूर्ण रहेको छैन। भारतमा भएको हिन्दू मुसलमान युद्धका कारण भारतको प्राचीन नालन्दा विश्व विद्यालय लाई जसरी नष्ट गरियो हाम्रा धेरै धर्मग्रन्थहरू नष्ट भएका थिए। जसबाट हाम्रो ज्ञानको भण्डार नष्ट भएको थियो। वाकी रहेका वेदका २८ हजार पाण्डुलिपिहरू भारतको पुणे स्थित ओरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएको छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू धेरै नै महत्त्वपूर्ण छन्, जसलाई युनेस्कोले आफ्नो सम्पदा सूचीमा समेत समावेश गरेको छ । युनेस्कोले ऋग्वेदका इ.पू. १८०० देखि इ.पू. १५०० बिचका ३० पाण्डुलिपिहरूलाई आफ्नो सांस्कृतिक धरोहरका रूपमा समावेश गरेको छ । महत्त्वपूर्ण कुरा त के छ भने युनेस्कोका १५८ सांस्कृतिक धरोहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्यो सूचीमा सामेल भएका छन् । यसरी हाम्रा मूल धर्म ग्रन्थहरू मानवीय धर्म ग्रन्थ हुन यहाँ कुनै जात जाती लिङ्ग भनेर विभेद गरिएको छैन। संस्कारहरूलाई मानवीय संस्कारको रूपमा लिइएको छ। धर्म ग्रन्थको व्याख्या गर्दै पछि लेखिएका पुराण उप पुराणहरूमा संस्कारहरूमा सामन्ती सोचका साथ केही विभेदहरू नदेखिएका भने होइन तर ती यथार्थमा मूल ग्रन्थको मर्म र भावना विपरीत छन् त्यस्ता विभेदहरूको हटाउँदै हिन्दू धर्म सबैको साझा धर्म र ती सबै वेद पुराण तथा धर्म ग्रन्थहरूमा सबै सनातनीहरूको अपनत्व हुने बनाउनु पर्छ बन्नु पर्छ।
हाम्रो धर्म ग्रन्थहरूको बारेमा बुझ्न सहज होस भनेर मैले माथी एउटा तस्बिर पनि तयार गरेको छु जसबाट हाम्रा ग्रन्थ बारे बुझ्न केह  सहज देखिन्छ।  यो लेख मैले जो कोही हिन्दू धर्म अनुयायीले हाम्रो धर्म ग्रन्थको विषयमा आधारभूत रूपमा बुझ्न सकिने गरी सरल भाषामा लेख्ने प्रयास मात्र मैले गरेको हु। म धर्म तथा संस्कृतको ज्ञाता नभएता पनि यस बारे आफ्नो जान्ने उत्सुकता तथा स्वअध्ययन र धर्मशास्त्रका विद्धान तथा प्राध्यापक मेरा दाजु श्रीधर शर्मा मजगैया सँग समेत धेरै विषयमा सोध, खोज, सहयोग लिएर लेख्ने प्रयास गरेको हु। कहीँ कतै कमी कमजोरी त्रुटिहरू भएमा औँल्याई दिएर सुझाव दिए अनुग्रहित हुने थिए।

बिनोद पोख्रेल,हाल: टेक्सास 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी