असोज १८ एजेन्सी । दिल्ली क्यापिटल्सले रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै आईपिएलको शीर्षस्थानमा उक्लेको छ । दिल्लीको यो तेस्रो जीत हो । उसले एक खेलमा मात्रै हार व्यहोरेको छ ।
अन्तिम दुई ओभरमा सम्हालिएको बलिङ प्रदर्शन गर्दै दिल्लीले शारजहाँ क्रिकेट मैदानमा जित निकालेको हो । मार्कुस स्टोइनिसले फालेको १७औं ओभरमा २४ र कागिसो राबाडाको १८औं ओभरमा २३ रन जोडेपछि २ सय २९ रनको लक्ष्य पाएको कोलकातालाई अन्तिम दुई ओभरमा ३१ रन आवस्यक थियो ।
तर एनरिच नोर्टजेले १९औं ओभरमा ५ रनमात्र दिएर इयोन मोर्गन र अन्तिम ओभरमा स्टोइनिसले ७ रन दिएर राहुल त्रिपाठीको विकेट लिएपछि कोलकाताले ८ विकेट गुमाई २ सय १० रनमात्र बनाउन सक्यो । राबाडालाई लगातार तीन छक्का प्रहार गरेका मोर्गनले १८ बलमा १ चौका र कुल ५ छक्कासहित ४४ तथा त्रिपाठीले १६ बलमा ३ चौका र ३ छक्कासहित ३६ रन बनाए ।
शुभमन गिलले २८, नितिश रानाले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५८ तथा एन्ड्रयु रसेलले १३ रन बनाए । नोर्टजेले ४ ओभरमा ३३ रन खर्चेर ३, हर्शेल पटेलले ४ ओभरमा ३४ रन खर्चेर २ तथा स्टोइनिस र अमित मिश्राले १–१ विकेट लिए ।
यसअघि कप्तान श्रेयस ऐरको अविजित ८८ रनमा दिल्लीले ४ विकेट गुमाई २ सय २८ रनको विशाल स्कोर बनाएको थियो । अन्तिम ओभरमा स्ट्राइक नपाएका म्यान अफ द म्याच ऐरले ३८ बल खेली ७ चौका र ४ छक्का प्रहार गरे । रसेलले फालेको अन्तिम ओभरको पहिलो बलमा स्टोइनिस १ रनमा आउट भए ।
त्यसपछि ५ बल खेलेका सिमरोन हेटमायरले एक छक्कासहित ७ रनमात्र बनाउन सके ।
आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद तथा पन्जाब र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।