बाढी प्रभावितका लागि डेढ करोड जुट्यो राहत

बाढी प्रभावितका लागि डेढ करोड जुट्यो राहत

  • शनिबार, अशोज १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

बागलुङ, १७ असोज ।
ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म रु एक करोड ६५ लाख सहयोग जुटेको छ । राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो ।

कोषको रकम बाढीले उठिबास भएका परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ । सहयोग आउने क्रम जारी नै रहेको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । “राहत कोषमा जम्मा भएको रकमले दाताकै नाममा घर बनाइदिन्छौँ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको छ, अपुग भएमा नगरपालिकाले बजेट थप्छ ।”

उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढी गलकोट समाज जापानमार्फत रु.२७ लाख ८० हजार सहयोग प्राप्त भएको छ । यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पनि रु.१९ लाखबढी राहत रकम प्रदान गरेको थियो ।

बिहीबार मात्र प्रभु बैङ्कले रु.पाँच लाख सहयोग गरेको नगरपालिकाले जनाएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरप्रमुख नेपालीलाई पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि देश–विदेशमा राहत अभियान चलाइएको छ । कतिपय व्यक्ति, संस्थाले नगरपालिकाको कोषमा जम्मा नगरी बाढीग्रस्त ठाउँमै पुगेर राहत बाँडिरहेका छन् ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १५ अझै बेपत्ता छन् । ढोरपाटन नगरपालिका–९, ८ र ७ का सयौँ परिवार घरबासविहीन बनेका छन् । सडक, पुल, खानेपानी, सिँचाइ, लघुजलविद्युत्, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइलगायत कैयौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् ।

यसअघि गृहमन्त्री रामबहादुर थापा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक योजना विकास मन्त्री रामशरण बस्नेतलगायतले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ