डा सापकोटाको निधनले कर्णालीवासीलाई अपूरणीय क्षति’

डा सापकोटाको निधनले कर्णालीवासीलाई अपूरणीय क्षति’

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

हाडजोर्नीको समस्या देखिनासाथ कर्णालीमा सबैले सम्झिने नाम थियो डा हरि सापकोटा । तीन दशकसम्म कर्णालीमा रहेर सेवा गर्दा उहाँ सबैमाझ परिचित तथा बिरामीका लागि प्रिय कहलिनुभएको थियो । उहाँको बिहीबार नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएपछि कर्णालीवासी स्तब्ध छन् । सहकर्मी चिकित्सक, स्वास्थ्यकर्मी मात्र होइन, उहाँबाट सेवा लिएका बिरामी तथा आफन्त भरसिलो डाक्टर गुमाउनुपर्दा पीडामा छन् ।

डा सापकोटा कार्यरत प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले उहाँको निधनबाट सिङ्गो कर्णाली प्रदेशलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । “सिनियर चिकित्सक बस्न नरुचाउने समयमा उहाँले सुर्खेतमै बसेर लामो समय सेवा गर्नुभयो,” डा खड्काले भन्नुभयो, “उहाँजस्तो अनुभवी चिकित्सक पाउन कर्णालीले धेरै वर्ष पर्खनुपर्छ, उहाँको निधनबाट प्रदेश अस्पताललाई मात्र नभई कर्णाली र पाँच नम्बर प्रदेशलाई ठूलो क्षति पुगेको छ ।”

सापकोटा प्रदेश अस्पतालमा ११ औँ तहमा वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत हुनुहुन्थ्यो । अस्पतालबाट बचेको समय वीरेन्द्रनगरको देउती नर्सिङ होममा उपयोग गर्नुभएका उहाँलाई बिरामीको उपचार गर्दागर्दै कोरोना सङ्क्रमण देखिएको थियो । भदौ ३० गते कोरोना पुष्टि भएपछि प्रदेश अस्पतालले नेपालगञ्जको भेरी अस्पतालमा रेफर गरेको थियो । बाँकेको खजुरा निवासी ५९ वर्षीय सापकोटा मधुमेह र उच्च रक्तचापका दीर्घरागी हुनुहुन्थ्यो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ ।

असोज १ गतदेखि भेरी अस्पतालमा उपचाररत सापकोटालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप सुविधासम्पन्न अस्पताल लैजाने प्रयास गरिएको थियो तर अक्सिजन स्याचुरेसन निकै कम हुँदा बाटोमै जोखिम हुनसक्ने हुँदा भेरी अस्पतालमै कृत्रिम श्वासप्रश्वास प्रणालीबाट अक्सिजन दिइएको थियो । कर्णाली प्रदेश सरकारले सापकोटाले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उचित सम्मान गर्ने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड विपद् व्यवस्थापन समितिको बैठकले यससम्बन्धी आवश्यक प्रस्ताव लैजान सिफारिस गर्ने निर्णय गरेको हो । सामाजिक विकास मन्त्रालयले पनि शोक वक्तव्यमार्फत डा सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

त्यस्तै, प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले सापकोटालाई राज्यले तत्काल स्वास्थ्य शहीद घोषणा गर्नुपर्ने, प्रदेशमा बन्ने सरुवा रोग अस्पतालको नामकरण उहाँकै नामबाट गरिनुपर्ने बताउनुभयो । “कोभिड १९ विरुद्ध लड्दालड्दै हामीले विशेषज्ञ चिकित्सक गुमायौँ, अहिले पनि स्वास्थ्यकर्मी जोखिममा रहेर काम गरिरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “सरकारले कोभिडविरुद्धको अग्रमोर्चामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उच्च मनोबल बढाउन आवश्यक सेवा–सुविधा वृद्धि गर्नुपर्छ ।” डा सापकोटा कोरोनाका कारण ज्यान गुमाउने पहिलो चिकित्सक हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी