काठमाडौँ , २ असोज ।
असोज ५ देखि निजी वायु सेवा कम्पनीहरूले पूर्ण क्षमताका साथ उडान सुचारु गर्ने भएका छन्।
पर्यटन सचिव सचिव केदार बहादुर अधिकारीले उपलब्ध यात्रु बोक्न पाउने गरी उडान भर्न वायु सेवा संचालकलाई अनुमति प्रदान गरिएको बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको अधिकारीले बताए ।
वायुसेवा संचालकहरूले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्ने अडान लिएपछि मन्त्रालयले पुरानो निर्णय सच्चाउँदै पूर्ण क्षमतामा जहाज उडाउन अनुमति दिएको हो।
मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज पाँच गतेदेखि नियमित उडान गर्ने वायुसेवा कम्पनीलाई २५ प्रतिशत उडान संख्या कायम गर्ने गरी समय तालिका स्वीकृत गर्न निर्देशन दिएको जनाएको छ।
आन्तरिक उडानका लागि यात्रुले बोर्डिङ पास लिनु अगाडी नै अनिवार्य हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने प्रावधान रहेको छ ।
प्रत्येक वायुसेवा कम्पनीको स्वास्थ्य सुरक्षा अवलम्बन पालनाको नियमित अनुगमन प्राधिकरणले गर्ने प्रावधान रहेको अधिकारीले जनाए ।
मन्त्रालयको शुक्रबारको यो निर्णयसँगै केही निजी कम्पनीले टिकट बुकिङ समेत खुला गरेका छन्।