जनकपुर असोज २ । नेपालले खरीद गरेको रेलको दुई सेट आज जनकपुर आईपुग्दै छ । रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रबार नेपाल आइपुग्ने रेल विभागले जनाएको छ ।
विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन जयनगर जनकपुरका लागि अघि बढिसकेको छ ।
रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू जनकपुर पुगिसकेका छन् ।
नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।
ट्रायलका लागि शुक्रबार जनकपुर आएर फर्किने रेल कहिलेदेखि नियमित सञ्चालन गर्ने भन्ने मिति पनि टुंगो अनिश्चित छ ।
शुक्रबार नेपाल भित्रिने रेल हाल जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुनेछ । कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि दूरीमा भने रेलवेको लिंक ओछ्याउने काम भईरहेको छ ।