भदौ ३० काठमाण्डौं । सवारी दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा परेका भण्डारीको थप उपचार काठमाडौँस्थित ग्राण्डी अस्पतालमा हुने छ ।
धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ । भण्डारीको छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौँ ल्याउनुपरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किदा दुर्घटनामा परेका थिए । उनका पछाडी सवार करन ठगुन्ना भने सामान्य घाइते भएका छन् ।
दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उनलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारीले जानकारी दिए । ठक्कर दिने मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन् ।