भदौ २६ धनगढी । समाचार लेखेको बिषयमा असन्तुष्ट रहेको एक समुहले धनगढीमा रहेको दिनेश सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि सांघातिक हमला गरेका छन् । धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५–२० जनाको समुहले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका हुन् ।
सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेको सो सञ्चारगृहले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको बताएको छ ।
धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन। उक्त सांघातिक आक्रमणको बिरोधमा विभिन्न पत्रकार सम्वद्ध संघ संगठनले भत्र्सना गर्दै दोषीमाथि कार्बाहीको माग गरेका छन् ।
उनीहरुले पत्रकारको टाउको र अनुहारमा कुटपिट गरीरहेको देख्न सकिन्छ । उनीहरुले त्यो समाचार डिलिट गर्न निरन्तर धम्की दिईरहेको पनि भिडियोमा देखिन्छ ।
यस आक्रमणको मिर्मिरे अनलाईन घोर भत्र्सना गर्दै दोषीमाथि कार्बाही गर्न माग गर्दछ ।
भिडियोमा हेर्नुस् कसरी आक्रमण भएको छ : स्रोत दिनेश खबर