सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ :समूह चरणमा खेलैपिच्छे विकेट

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ :समूह चरणमा खेलैपिच्छे विकेट

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

२२ भदौ ।
ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ । जमैका तलावाजबाट खेल्दै आउनु भएका उहाँ समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल हुनुभयो ।

सीपीएलको समूह चरणको सबै खेलहरु आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले दश दश वटा खेल खेलेका थिए । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा सन्दीपले बलिङ गर्न पाउनु भएन । बाँकी नौ वटा खेलमा भने उहाँले खेलैपिच्छे विकेट लिनुभयो । सन्दीपको बलमा विपक्षी खेलाडीहरुले खुलेर रन बनाउन सक्नुभएन । उहाँले प्रत्येक खेलमा निकै किफायती बलिङ गर्नुभयो । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म नौ खेलमा १२ विकेट लिनुभयो ।

जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाउनुभयो । जमैका समूह चरणका १० खेलमध्ये तीनमा जीत तथा ६ वटामा हारका साथ ७ अङ्क बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा खुम्चियो । यद्दपी सन्दीपले भने जमैकाका लागि कसिलो बलिङ गर्नुभयो ।

सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिनुभएको थियो । उक्त खेलमा उहाँले चार ओभरमा २३ रन खर्चिनुभएको थियो । सो खेल जमैकाले ५ विकेटले जित्यो ।

यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिनुभएको थियो । उहाँले ट्रिनबागो नाइट राइडर्सविरुद्धको उक्त खेलमा ४ ओभरमा ३० रन दिनुभएको थियो । उक्त खेल राइडर्सले सात विकेटले जितेको थियो ।

गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिनुभयो । उहाँले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिनुभयो । उक्त खेलमा उहाँले हालसम्मकै उत्कृष्ट खेल देखाउनुभएको थियो । तर सो खेलमा जमैका १४ रनले पराजित भयो ।

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिनुभयो । गुएना अमेजन वारियर्सविरुद्धको उक्त खेलमा उहाँले चार ओभरमा मात्र १२ रन खर्चिनुभयो । सो खेलमा जमैका पाँच विकेटले विजयी भयो । यस्तै पाँचौ खेलमा सन्दीपले दुई विकेट लिनुभएको थियो । बार्बाडोस ट्राइडेन्ससितको सो खेलमा उहाँले ४ ओभरमा १६ रन दिनुभयो । सो खेलमा जमैका ३६ रनले पराजित हुन पुग्यो ।

यस्तै सेन्ट किट्स विरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिनुभयो । सो खेलमा उहाँले चार ओभर बलिङ गर्दै २७ रन खर्चिनुभयो । उक्त खेलमा जमैका ३७ रनले विजयी भयो । सातौँ खेलमा सन्दीपले एक विकेट लिनुभयो । ट्रिनबागो नाइट राइडर्सविरुद्धको सो खेलमा उहाँले चार ओभर बलिङ गर्दै २० रन दिनुभयो । सो खेलमा ट्रिनबागोले जमैकालाई १९ रनले पराजित गरेको थियो ।

यस्तै सेन्ट किट्स विरुद्धको आठौँ खेलमा सन्दीपले जमैकाका लागि बलिङ गर्न पाउनु भएन । उक्त खेल वर्षाका कारण रद्द भएको थिरयो । तर नवौँ खेलमा भने सन्दीपले एक विकेट लिन सफल हुनुभयो । बार्बाडोस ट्राइडेन्स विरुद्धको सो खेलमा उहाँले चार ओभर बलिङ गदै २६ रन दिनुभयो । उक्त खेलमा जमैका सात विकेटले पराजित हुनपुग्यो । समूह चरणको अन्तिम खेलमा सन्दीपले निकै किफायती बलिङ गर्नुभयो । सेन्ट लुसिया विरुद्धको खेलमा उहाँले चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिनुभयो । तर उहाँको टोली जमैका भने उक्त खेलमा ११ रनले पराजित भयो ।

सन्दीपको टोली जमैकाले अब मंगलबार सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । उक्त खेलमा हालसम्मको खेल प्रदर्शनको आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । जमैकाले बलिङ लाइन सन्दीप माथि निर्भर रहने गरेको छ । उहाँले विपक्षी खेलाडीलाई खुलेर रन बटुल्न दिनुभएको छैन । सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आउनुभएको त्यसैगरी ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ ।
रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ