भदौ २२ काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालमा काम गरेर खान समस्या नरहेको दाबी गरेका छन् ।
देशमा रोजगारीको अभावमा हजारौ नेपाली फेरी भारततिर फर्किरहेका बेला प्रधानमन्त्रीले यो दाबी गरेका हुन् ।
‘भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन’, ‘युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन थालिसकेका छन्। प्रधानमन्त्रीले भने । उनले देशमै बसेर काम गर्न पनि युवाहरुलाई अपिल गरेका छन् ।
निजी क्षेत्रका उद्योगी व्यवशायी प्रतिनिधिहरुसगँ आईतबार छलफल गर्दै उनले कोरोनाबारे मनौवैज्ञानिक त्रास फैलाउन नहुनेमा पनि जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले अर्थतन्त्र विनाशबाट जोगाउन सरकारले काम गरिरहेको स्पष्ट पारेका छन्।
प्रधानमन्त्रीसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छा लगायतले व्यवशायीको समस्याबारे सुझाव पेश गरेका थिए ।
छलफलमा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोध समेत प्रधानमन्त्री समक्ष गरेका छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा सरकारले यसबेला चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बोधनको बारेमा स्पष्ट पारेका छन्।
कोरोनाको विषयमा सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवार र सचेत हुनुपर्नेमा उनले जोड दिएका छन्।
ओलीले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरेका छन्।
ओलीले काम गरेर खान नेपालमा समस्या नरहेको स्पष्ट पारेका छन्। ‘भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन’, ओलीले भने, ‘युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन थालिसकेका छन्।’ उनले सबै युवालाई देशमै काम गर्न आह्वानसमेत गरेका छन्।