आठ सय ११ बर्ष अघि किङ हेनरी तृतीयले उद्घाटन गरेको बेलायको क्याम्ब्रिज विश्व विद्यालय विश्वकै सबै भन्दा पुरानो विश्व विद्यालयमा पर्दछ र २.१९२ अर्ब पाउण्ड ( ३ खर्ब ४३ अर्ब बढी ) कलेजहरु बाहेकको बजेटमा चलिरहेको विश्वको दोस्रो ठूलो विश्व विद्यालय पनि हो ।
क्याम्ब्रिजले यो लामो अवधिमा विकास गरेको शिक्षा प्रणाली, कोर्सहरुलाई आज संसारभर फैलाईएको छ । नेपालमा सन् १९८६ देखि अर्थात ३४ बर्ष अघि ए लेभलका रुपमा क्याम्ब्रिजको कोर्स पढाउने अनुमति प्रदान गरिएको थियो । बेलायतमा ए लेभल शुरु भएको ३५ बर्ष पछि नेपालमा यो कक्षा शुरु भयो बुढानिलकण्ठ स्कुलमा ए लेभल पहिलो पटक भित्रिएको थियो । यसका लागि नेपाल बेलायतको युद्धदेखि कुटनीतिक सम्बन्ध र गोर्खा भर्ती जस्ता सम्बन्धले पनि नेपालमा यो कक्षा शुरु गर्न सजिलो भएको हुन सक्छ । यो विश्व व्यापीकरणको एउटा उपज पनि हो । जे भए पनि नेपालमा ए लेभल अहिले पैसा तिर्न सक्नेका लागि महत्वको शिक्षा भएको छ भने आर्थिक अभाव हुनेहरुका लागि पँहुच भन्दा टाढा छ ।
के हो ए लेभल ?
कक्षा १० सम्मको शिक्षालाई माध्यमिक तहको शिक्षा र १२ सम्मलाई उच्चमाध्यमिक शिक्षा भनिएको छ । यही समयमा विद्यार्थीहरु कोही नेपाल सरकार अन्तर्गतको एचएसइबीमा विज्ञान, व्यवस्थापन, मानविकी आदि विषयमा अध्ययन गर्छन् भने कोही अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गतका ए लेभल, आइवि वा प्राविधिक शिक्षाको खोजीमा लाग्दछन् । यसै मध्य केहीको रोजाईमा ए लेभल पर्ने गरेको छ । नेपालमा आकर्षणको केन्द्र बनेको ए लेभल अन्तर्राष्ट्रिय स्तरको क्याम्ब्रिज अन्तर्राष्ट्रिय परीक्षा क्याम्ब्रिज जिसिइ ए–लेभल हो । ए लेभल पनि प्लस टु जस्तै दुई बर्ष भित्रै पढाई हुन्छ ।
तर नेपालमै पढे पनि विद्यार्थीहरु प्रमाण पत्र क्याब्रिजकै हात पार्दछन् र रिजल्ट तथा परीक्षा क्याम्ब्रीजको सोही क्यालेन्डर अन्तर्गत हुन्छ ।
पहिलो वर्षलाई ए एस र दोस्रो वर्षलाई ए टु भनिन्छ । ए लेभलमा ७० वटा विषय हुन्छन् । जस मध्य विद्यार्थीहरुले रोजेर पढ्न सक्छन् । ए लेभलमा स्कुलमा जस्तो चक डस्टर लिएर हैन,अन्तरक्रिया, सेमिनार, प्रयोगात्मक, प्रोजेक्ट आदि विधिबाट सिकाईन्छ । ए लेभल पुरा गर्न ७० वटा विषय मध्य कुनै चार वटामा विद्यार्थीले अनिवार्य रुपमा उत्तीर्ण गर्नु पर्ने हुन्छ । ईच्छा हुने र क्षमता हुने विद्यार्थीले बढी पनि बिषयमा परीक्षा दिन पाउछन् ।
ए–लेभल कक्षा सञ्चालन गर्ने प्राविधिक साधन, प्रयोगशाला, पुस्तकालय, सभाकक्ष इत्यादिको सदुपयोग गरी सिर्जनात्मक सोचाई तथा अन्य सिप बढाउने अवसर दिईने हुनाले पनि नेपालमा पनि यसको आकर्षण बढीरहेको छ ।
नेपालमा कति छन ए लेभल पढाउने कलेज ?
नेपालमा विदेशी सम्वन्धन लिने कलेजहरुको संख्या ८३ रहेको छ । त्यस मध्य करीब ३ दर्जन कलेजले क्याम्ब्रिजको ए लेवल सम्वन्धन अनुमति पाएका छन् । ती मध्य १२ वटा कलेजको ए लेभल अनुमति चाँही शिक्षा मन्त्रालयले चैत्र ४ गते २०७६ मा खारेज गरिदिएको छ । त्यसमा सरकारले देखाएको कारण चाँही धरौटी अद्यावधिक नगरेको र नवीकरणका लागि निवेदन नगरेको भन्ने दिएको छ । १५ वटा खारेजीको सुचीमा रहे पनि १२ वटा मात्रै खारेज भएको थियो । त्यसलाई ए लेभल सञ्चालकहरुले भेदभाव र पक्षपात भएको दाबी समेत गरेका थिए ।
त्यस बाहेक बुढानिलकण्ठ काठमाण्डौं, रातो बंगला ललितपुर, चेल्सी काठमाण्डौं , ग्लोबल कलेज,जेभियर ईन्टरनेस्नल काठमाण्डौं, ट्रिनीटी काठमाण्डौं , नामी, काठमाण्डौ, गण्डकी बोर्डिङ स्कुल पोखरा लगायतका रहेका छन् ।
ए लेभलमा अझै सोचे जस्तो विद्यार्थी किन पाउदैनन् कलेजले ?
उत्कृष्ट विश्वव्यापी नतिजा, प्रयोगात्मक र अन्तरक्रियात्मक शिक्षा प्रणाली र विद्यार्थीका लागि राम्रो वातावरण भए पनि नेपालमा ए लेभलमा ठूलो संख्यामा विद्यार्थी भर्ना भएको भने देखिदैन ।
सरदर कलेजले एक सय हाराहारीमा बर्षमा भर्ना लिने गरेको छ । त्यस मध्य केही बढी विद्यार्थी लिनेमा चेल्सी, जेभियर, ट्रिनीटी लगायतका पर्दछन् ।
यस मध्य पनि रातो बुढा निलकण्ठ, रातो बंगला जस्ता केही नाम चलेका कलेजले विद्यार्थीको संख्यामा जोड दिएका छैनन् । उनीहरुले गुणस्तरमा जोड दिएको दाबी सम्बन्धित कलेजको छ ।
अहिले ट्रिनीटीले १२० जना विद्यार्थी भर्ना लिने गरेको छ भने रातो बंगलाले १००, नामीले ७० जना जति विद्यार्थी भर्ना लिने गरेको छ ।
कतिपय नाम नचलेका कलेजले भन भर्ना गर्न अनुमति पाए जति विद्यार्थी पनि पाउन नसकेको देखिन्छ ।
अर्कोतिर शुल्क महंगो, नेपालको शिक्षा प्रणली र सिलेवस अनुसार पढाई नहुने भएकाले लोकसेवा आयोग, ईन्जिनियरिङ काउन्सील जस्ता प्रतिस्पर्धात्मक क्षेत्रमा पनि ए लेभलका बिद्यार्थीको नतिजा सन्तोषजनक नरहेको शैक्षिक क्षेत्रमा लामो समय क्रियाशील एक विज्ञ बताउछन् ।
गुणस्तरीय शिक्षा, विदेश जानेका लागि बढी उपयोगी भनिए पनि आर्थिक हैसियत कम हुने अभिभावकका लागि भने यो शिक्षा महंगो हुने भएकाले पनि बिद्यार्थी चाहेर पनि ए लेभलमा जान सकेको देखिदैन ।
बर्षमा झण्डै चार लाख बढी विद्यार्थी प्लस टु वा ए लेभलका लागि छनौट हुन्छन् तर त्यसको शुन्य दशमलव ५ प्रतिशत हाराहारी मात्रै विद्यार्थी ए लेभलमा भर्ना हुने गरेको पाईएको छ ।
विद्यार्थीबाट बाट उठ्ने शुल्क क्याम्ब्रिज विश्व विद्यालयसम्म पुग्छ
ए लेभलमा औसत ६० देखि ७० बिषय पढ्न सक्छन् विद्यार्थीले । त्यो मध्य ए लेभल उत्तीर्ण गर्न चार वटा बिषयमा कम्तीमा उत्तीर्ण हुनु पर्दछ । यो परीक्षा क्याम्ब्रिजले नै लिने गर्दछ । यो परीक्षा शुल्क बिषय अनुसार फरक फरक छ । तर औषतमा साईन्सका बिद्यार्थीले २० हजार हाराहारीमा एक विषयको शुल्क क्याम्ब्रीज विश्व विद्यालयमा पठाउनु पर्दछ । नन साईन्स विषय भने केही सस्तो रहेको बताइन्छ । यो हिशाबले जोड्ने हो भने औसतमा २ हजार विद्यार्थीबाट परीक्षा वापत बर्षमा अनुमानित २० करोड हाराहारीमा विद्यार्थीबाट कलेजले लिएर ब्रिटिश काउन्सील मार्फत क्याम्ब्रिजमा पठाउने गरेको देखिन्छ । ब्रिटिश कान्उसीलमा पनि यो सम्बन्धन लिदा दर्ता गर्नु पर्दछ । सरकारलाई धरौटी बुझाउनु पनि पर्ने हुन्छ ए लेभलका लागि ।
ए लेभलको शुल्क ६ लाख देखि १० लाख सम्म कलेजहरुले लिने गरेका छन् । ट्रिनीटीले ए लेभलका लागि ८ लाख जति लिने गरेको पाईएको छ । त्यस्तै एक मुष्ट भन्दा पनि रातो बंगलाले मासिक २८ हजार भन्दा बढी शुल्क लिने गरेको छ क्याम्ब्रिजको परीक्षा शुल्क बाहेक ।
ट्रिनिटीका ए लेभलका सह कोअर्डिनेटर सौरभ बस्नेतले प्रयोगशाला, पुर्वाधार जस्ता कुरा ए लेभलका लागि अति नै आवस्यक भएकाले पनि यो शिक्षा केही महंगो हुन गएको बताउछन् ।
अहिले प्लस टु पढ्ने उत्कृष्ट विद्यार्थीको चाहना पनि ए लेभल पढ्ने विद्यार्थीको चाहना पनि विदेशमै जाने रहने हुनाले ए लेभल उत्कृष्ट विकल्प हुने बस्नेत बताउछन् ।
नेपालमा पुर्वाधार र विस्वासका हिशाबले सबै भन्दा पहिला ए लेभल शुरु गर्ने बुढानिलकण्ठ र रातो बंगला अगाडी देखिएको छ । यी दुबै कलेजलाई क्याम्ब्रीजले होम सेन्टरको अनुमति दिएको छ । अर्थात त्याहाँ पढेका बिद्यार्थीको परीक्षा त्यही कलेजमा हुन्छ अन्त जानु पर्दैन । पछिल्लो समय पोखरा स्थित गण्डकी बोर्डिङ स्कुलले पनि यो अनुमति पाएको छ । बाँकी कलेजले भने त्यस्तो अनुमति पाएका छैनन् ।
साईन्समा फोकस गरेको रातो बंगलाले विद्यार्थी संख्या भन्दा बढी गुणस्तरमा जोड दिएको दावी गर्छ । रातो बंगलाका बिद्यार्थी मेडिकल क्षेत्रमा प्रवेश गरेका मध्य करीब १५ जना पाटन अस्पतालमा मात्रै चिकित्सक रहेको देखिएका छन् ।
यस्तै नामीले पनि करीब साढे ५ लाखमा ए लेभल पढाउदै आएको छ । करीब ७० जना बिद्यार्थी भर्ना लिने नामीले पनि गुणस्तरमा जोड दिएको बताउछ ।
चेल्सी , ट्रिनीटी लगायतका कलेज पनि ए लेभलका लागि नाम चलेका कलेज भित्र पर्दछन् ।
के ए लेभल ब्रेन ड्रेनको ढोका हो त ?
नेपालको शिक्षा प्रणाली मौलिक नरहेकोमा यस क्षेत्रमा सक्रिय कतिपय विद्धानहरु बताउछन् । गुरुकुल प्रणाली र घोकन्ते संस्कारमा रहेको नेपालको शिक्षा प्रणाली आफैमा व्यवहारीक छैन भन्ने धेरैलाई महसुस भएकै छ ।
यो समयक्रमसगैँ प्रतिस्थापित हुदै प्रविधिमैत्री र वैज्ञानिक बन्दै जाला । तर अहिले विस्तारै बेलायत, भारत, अमेरीका जस्ता देशका विश्व विद्यालयबाट सम्बन्धन लिएर त्याहाँको सिलेबस अनुसार पढाउने क्रम बढेको छ ।
यसले खास गरी क्याम्ब्रिजले ए लेभलका नाममा लिएको नीति भनेको विश्व विजेताको हो । संसारका विद्यार्थीहरुलाई एक साथ प्रतिस्पर्धा गराईने हुदाँ कुनै एक देशका विद्यार्थी उत्कृष्ट भए उसको नाम विश्व व्यापी बन्दछ तर सबै त त्यसो हुन सक्दैनन् ।
बढी लगानी गरेर विदेशी पाठ्यक्रममा आधारीत शिक्षा लिईसके पछि कुनै पनि विद्यार्थी र उसका लागि खर्च गर्ने अभिभावकले त्यो भन्दा बढी कमाउने कुरा सोचेको हुन्छ । अतः शिक्षा र त्यस पछिको रोजगारीका लागि अधिकाश यस्ता विद्यार्थीहरुले युरोप, अमेरीका, क्यानडा, अष्ट्रेलिया सहित विकसित राष्ट्र खोजिरहेको छ । त्यसमा प्रतिशतका हिशाबले ए लेभल पढ्ने विद्यार्थीहरु बढी देखिन्छन् ।
हुन त, प्लस टु पढेका पनि थुप्रै विद्यार्थीहरुको चाहना पनि विदेश जानेमा रहेकै हुन्छ ।
अतः ए लेभल उच्च शिक्षाको वैकल्पिक मार्ग भए पनि बढी मात्रामा यसले ब्रेन ड्रेनकै ढोका खोल्ने गरेको कतिपयको बुझाई छ ।
यसले गर्दा देश भित्र रहनु पर्ने, देशका लागि गर्नु पर्ने औषत क्षमता र प्रतिभा भएका मानिसहरुको पलायनताले देशलाई नोक्सानी हुने उनीहरुको बुझाई छ । तर यति हुदाँ हुँदै पनि ए लेभलको शिक्षा पद्धति उत्कृष्ट रहेकोमा धेरैको सहमति देखिन्छ ।
विना परीक्षाको नतिजामा ग्रेड कम दिए पछि क्याम्ब्रिज बिरुद्ध विद्यार्थीको प्रदर्शन
ख्यातीप्राप्त विश्व विद्यालय हुँदा हुँदै पनि क्याम्ब्रिजले यस पटक कोरोना महामारीका कारण विद्यालयहरुले पठाएको मुल्याकंनका आधारमा नतिजा प्रकाशित गरेको थियो । तर त्यो नतिजामा कम ग्रेड देखिए पछि नेपालदेखि लण्डन सम्म विद्यार्थीहरुले आक्रोस व्यक्त गरे । नेपालमा पनि ब्रिटीस काउन्सील अगाडी प्रदर्शन भएको थियो भने लण्डनमा क्याम्ब्रिजको मुख्यालय अगाडी । १४ अगष्टमा विद्यार्थीहरुले नतिजा बिरुद्ध आन्दोलन गरे पछि क्याम्ब्रिजले पुनः परीक्षा गराउने तयारी गरेको बताईएको छ ।
अझ लण्डनमा त आक्रोसित विद्यार्थीले क्याम्पसहरुमा तोडफोड र आगजानी नै गरे पछि झडप नै भएको थियो भने केहीलाई मुद्धा चलाईएको बेलायती अखबारहरुले जनाएका छन् ।
विश्वभरका विद्यार्थीहरुले महंगो शुल्क तिरेर परीक्षा नलिई दिईको ग्रेड चाँही अपेक्षाकृत नभएको दाबी गरेका छन् ।
नेपालमा ए लेभलको उपयोगीताका लागि ८–१० बर्ष कुर्नु पर्छः पोखरेल, उपाध्यक्ष हिशान
ए लेभलको शिक्षाको नेपालमा उपयोगीताको बिषयमा हामीले हिशानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेललाई सम्पर्क गरेका थियौ । उपाध्यक्ष पोखरेलका अनुसार आधुनिक शिक्षण सिकाईमा आधारीत भएकाले उपयोगीता निकै हुन्छ ए लेभलको । तर नेपालमा यसको उपयोग गर्न अझै ८/१० बर्ष लाग्न सक्छ ।
ए लेभल प्रयोगात्मक सीप र ज्ञान आर्जन गर्ने अवधारणासँग जोडिएको छ । हाम्रो अभ्यास घोकन्ते विधि र तीन घण्टे अवैज्ञानिक परीक्षा प्रणालीमा निर्भर भएकाले तत्काल ए लेभलको प्रयोग तत्काल सफल हुन सक्ने देखिदैन ।
प्लस टु र ए लेभलको पाठ्यक्रममै आधारभूत भिन्नता पाईन्छ । अझ लर्निङ प्रोसेसको कुरा गर्ने हो भने आकाश जमिनको अन्तर छ । ए लेभल गरेका बिद्यार्थीले नेपालका मेडिकल, ईन्जिनियरीङ, लगायत अन्य ब्याचलर कोर्सहरुको प्रवेश परीक्षामा उत्कृष्ट हुनै सक्दैन । जब सम्म कण्ठ गर्ने र धेरै नम्बर ल्याउने संस्कार कायम रहन्छ तब सम्म यी सबै कोर्षहरु एक अर्काको विकल्प हुन सक्दैनन् ।
ए लेभल कोर्सलाई हुबहु लागू गर्न तीन कुरा चाहीन्छ । पहिलो सामाजिक सीपमा आधारीत शिक्षा प्रतिको सामाजिक विस्वास, दोस्रो राज्यको नीति, तेस्रो ए लेभलको अवधारणा अनुसारको विद्यार्थीको मानसिक आधार । यसरी मात्रै ब्रेन ड्रेन रोक्न सकिन्छ ।