काठमाडौँ , १८ भदौ ।
पुल्चोकमा बिहिबार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबिच भएको झडपको विरोध जनाउदै साँखुमा विरोध प्रर्दशन भएको छ ।
साँखुका स्थानीयले पाटनका स्थानीयवासीप्रति ऐक्यबद्धता जनाउँदै संस्कृतिविरुद्ध प्रशासन लागेको भन्दै विरोध प्रर्दशन गरेका हुन् ।पुल्चोकमा संस्कृतिप्रेमीमाथि प्रहरी दमन भएको भन्दै घरबाट बाहिर निस्किएर स्थानीयले सडक प्रर्दशन गरेका हुन् ।
उनीहरुले मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सञ्चालन गर्न दिन माग गर्दै आवश्यक परे साँखुबाट रथ तान्न सहयोग गर्न तयार रहेको बताए ।
साँखुका समाजसेवी मिजेन्द्रकाजी श्रेष्ठले जात्रा सञ्चालनको विकल्प नदिई संस्कृतिकर्मीमाथि दमन गर्नु न्यायसंगत नभएको बताए । उनले भने– ‘मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने बेलामा पुल्चोकमा संस्कृतिकर्मीमाथि जुन दमन भयो त्यसको विरोधमा र जात्रा सञ्चालन गर्न पाउनुपर्छ भन्ने मागको नैतिक समर्थनमा हामीले विरोध प्रर्दशन गरेका हौँ । हिजो अस्ति रथ नै बनाउन नदिएको, देउता राख्नै नदिएको भए एउटा कुरा हुन्थ्यो । सरकारले जात्रा कसरी चलाउने त्यसको विकल्प खोज्नुपर्नेमा दमनको नीति लिएकोले त्यसको विरुद्धमा एकजुट हुनुपर्छ भन्दै हामीले ऐक्यवद्धता जनाएका हौँ ।’
काठमाडौंको साँखु नेवार समुदायको बाक्लो उपस्थिति रहेको प्राचिन ऐतिहासिक शहर हो । उनीहरुले नेवार संस्कृतिमाथि प्रशासनले धावा वोल्ने काम गरेको आरोप लगाएका छन् ।
आज ललितपुरको पुल्चोकमा रथ तान्न जम्मा भएका स्थानिय र प्रहरीबिच झडप हुँदा शुरक्षाकर्मीहरु घाइते भएका थिए ।