भदौं ११, काठमाडौँ । भारतबाट आयातित चिनीको गुणस्तर परीक्षण तथा जारी गरेको दूध तथा दुग्ध पदार्थको आयात प्रज्ञापनपत्र सम्बन्धमा गठित छानबिन समितिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशीसहित उपमहानिर्देशक राकेश त्रिपाठी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईलाई कारबाही गर्न सिफारिस गरेको छ ।
भारतबाट आयातित चिनी परीक्षणका क्रममा विभागको लापरबाही देखिएको र कानुनको समेत पालना नगरेकाले परीक्षणमा संलग्न कर्मचारी र विभागका महानिर्देशकलाई कारबाही गर्न समितिले सिफारिस गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रशासन महाशाखा प्रमुख नारायणप्रसाद रेग्मीको अध्यक्षतामा गठित छानबिन समितिले भारतबाट आयातित चिनीको गुणस्तर परीक्षण गर्दा प्रयोगशालाले अपनाएको प्रक्रिया र विधिसँग सम्बन्धित कागजात अध्ययन गरेको थियो । ०७७ पुसदेखि दूध र दुग्ध पदार्थ आयातका लागि प्रदान गरिएको ज्ञापनपत्रसम्बन्धी विवरणका प्रमाणित कागजात अध्ययन गरिएको थियो । कागजात अध्ययन र सम्बन्धित व्यक्तिसँग सोधपुछपछि छानबिन समितिले प्रचलित कानुनको पालना नगरेको निष्कर्ष निकालेको थियो ।
पैठारी गरिएको चिनीको गुणस्तर परीक्षणबारे जलेश्वरस्थित गुणस्तर प्रमाणीकरण कार्यालयले गरेको परीक्षणबारे विभागका महानिर्देशकलाई थाहा नहुनु र परीक्षण प्रतिवेदनको बोधार्थ प्रतिलिपिसमेत विभागमा नहुनु आश्चार्यजनक रहेको प्रतिवेदनमा उल्लेख छ ।