पर्सा जिल्लाको जिल्ला प्रशासानले विरगञ्ज बजारमा रहेका विभिन्न तरकारी तथा फलफुल पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा कालोबजारी गर्ने तीन ओटा पसलहरुलाई कार्वाही गरेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलिले बुधबार विरगञ्ज महानगरपालिका माइस्थान र मिना बजार वरिपरीका पसलहरुको अनुगमन गरेको हो ।
मूल्यसूची नराखेका तथा बिल उपलब्ध नगराउने किराना पसल सञ्चालकलाई जिल्ला अनुगमन समिति पर्साले कारबाही गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तीन जना पसल सञ्चालकलाई कारबाही गरिएको जनाए । ‘बुधबारको अनुगमनमा आलु गदि र तरकारी तथा फलफूलमा मात्र केन्द्रित थियो । उनले भने ‘मूल्यवृद्धि तथा कालोबजारीविरुद्ध निरन्तर अनुगमन गरिनेछ ।’
अनुगमनमा मूल्य सूची नराखेका तथा बिल उपलब्ध गराउन नसकेकाहरूलाई १० हजारदेखि लिएर २० हजार रुपैयाँसम्म जरिवाना गरिएको जिल्ला प्रशासनले जनाएको छ । चन्द्रकिशोर ट्रेडर्स मीनाबजारलाई २० हजार, शिव देवी ट्रेडर्स मीनाबजारलाई २० हजार र माँ जगदम्बा फ्रुट सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
टोलीले तरकारी तथा फलफूलको कालोबजारी र मूल्य वृद्धि नगरी बिक्री वितरण गर्न निर्देशन पनि दिइएको छ । कोरोना महामारीको समयमा कुनै वस्तुको कालोबजारी गरिएको देखिए आवश्यक प्रमाणसहित कार्यालयमा इमेलमार्फत पनि उजुरी गर्न सकिने जिल्ला प्रशासन कार्यलय उजुरी दिन आग्रह गरेको छ ।