काठमाडौँ, ९ भदौ ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो चौथो खेल बुधबार खेल्नेछन् । ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएलअन्तर्गत सन्दीप सम्मिलित टोली जमैका तलावाजले चौंथो खेलमा गुएना अमेजन वारियर्ससित प्रतिस्पर्धा गर्नेछ । जमैका र वारियर्सबीचको खेल बुधबार बिहान सवा तीन बजे शुरु हुनेछ ।
क्विन्स पार्क ओभलमा हुने उक्त खेलमा जमैका दोस्रो जितको पर्खाइमा हुनेछ । पहिलो खेल जितेको सन्दीपको टोली जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो ।
सन्दीपले हालसम्म खेलेका तीन खेलमा चार विकेट लिएकाछन् । सन्दीपले आइतबार गुएनासितको तेस्रो खेलमा चार ओभरमा ८ रन खर्चिएर २ विकेट लिएका थिए ।
सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए भने ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए ।
सन्दीप तेस्रो पटक सिपिएल खेल्दै छन् । यस अघि सन्दीपले सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।
यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।