विराटनगर, ८ भदौ । शुक्रवार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषकाे शवको व्यवस्थापन विराटनगर महानगरपालिकाले गरेको छ । आफन्त सम्पर्कमा नआएपछि सोमबार बिहान ती पुरुषको शव व्यावस्थापन गरेको हो ।
धनकुटा घर भएका ५० बर्षका दीपक शेर्पा नाम बताउने उनको गत शुक्रबार बिहान मृत्यु भएको थियो । उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । कोही आफन्त वा परिवारका सदस्य सम्पर्कमा आउँछन् कि भनेर शव तीन दिनदेखि कोशी अस्पतालकै शव गृहमा राखिएको थियो ।
तर उनका परिवार, चिनजान र नातागोताका कोही पनि नआउँदा अस्पतालले पोस्टमार्टम गर्दै बुझाएपछि महानगरले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवको व्यवस्थापन गरेको हो । प्रहरीले उनको परिवारको खोजी गरेपनि फेला पार्न नसकेपछि उनको महानगरले शव व्यावस्थापन गरेको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित सडकमा छटपटाइरहेका बेला उनलाई प्रहरीले उद्धार गरेर गत बिहीबार राती उपचारका लागि कोशी अस्पताल पुर्याईएको थियो ।