काठमाडौँ , ७ भदौ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडिको तलब तलब १० हजारले बढेर आउने भएको छ। सन् २०१९ को पाउन बाँकी रहेको तलब रकममा १० हजारले बढाएर दिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सहमत भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
यसअघि क्यानले २०१९ को तलब प्रदान गर्नका लागि २२ क्रिकेटर र भिडियो विश्लेषक रमन सिवाकोटीको नाम आइसिसीलाई पठाएको थियो। क्यानले यसअघि पाउँदै आएको तलबमा १० हजार बढाउन पनि प्रस्ताव गरेको थियो।
सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको थियो। आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेणीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको थियो।
अब ‘ए’ श्रेणीको मासिक ४५ हजार, ‘बी’ श्रेणीको ३५ हजार र ‘सी’ श्रेणीको २५ हजार तलब पुगेको छ। यो तलब आइसिसीले पठाउन प्रक्रिया सुरु गरेको छ।
२०१९ मा क्यान निलम्बनको अवस्थामा रहेको हुनाले सो अवधिको तलब आइसिसीले प्रदान गर्ने जनाएको छ।
त्यसका लागि क्यानले तलब पाउने सबै क्रिकेटरसँग एक – एक वर्षको सम्झौता गरेर आइसिसीलाई कागजात पठाएको थियो।
यसअघि आइसिसीले २०७५ माघमा २१ जना राष्ट्रिय क्रिकेटरलाई सन् २०१७ र १८ को तलब उपलब्ध गराएको थियो। यसपटक २२ जना क्रिकेटरको नाम पठाउनु भनेकोले क्यानले राजु रिजालको नाम थप गरेर पठाइएको हो।
सन् २०२० को तलब भने क्यानले नै दिनेछ। त्यसका लागि क्यानले पुरुष र महिला क्रिकेटरसँग छिट्टै सम्झौता गर्ने जनाएको छ।
श्रेणीको ड्राफ्टअनुसार पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ए श्रेणीमा छन्। त्यस्तै ‘ए’ श्रेणीको खेलाडीमा करण केसी र विनोद भण्डारीको नाम पनि थपिएको छ ।
यो सगै नेपालका ९ खेलाडी ‘ए’ श्रेणीमा परेका छन् ।
‘बी’ श्रेणीमा आरिफ शेख, रोहित पौडेल, ललितनारायण राजवंशी, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहरा र सन्दीप जोरा सहित ७ जना छन्।
त्यस्तै ‘सी’ श्रेणीमा प्रदीप ऐरी, राजु रिजाल, कुशल भुर्तेल, रसिद खान, इशान पाण्डे र कुशल मल्ल सी श्रेणीमा छन्।
आइसिसीले २०१९ मा खेलेका खेलाडिलाइ मात्र पारिश्रामिक तलब उपलब्ध गराउने भएको छ । यस अघि श्रेणीमा रहेका हरुको नाम कटौती गरेका र नयाँ श्रेणी बनाएको जनाइएको छ ।