रौतहट , ७ भदौ ।
रौतहट माधवनारायण नगरपालिका-२ खेसरहियास्थित हनुमान मन्दिरका ६२ वर्षीय पूजारी राम साहको हत्या भएको चार दिन भइसकेको छ । तर ६२ वर्षी पूजारीको हत्यारा भने अझै पत्ता लागेको छनै ।
पूजारी राम साहको हत्या भदौ ३ गते राति मन्दिरमा खाना खाइरहेको अवस्थामा भएको थियो । उनको हत्या अज्ञात समुहले गोली हानी गरेका थिए ।
पूजारी साहको हत्यामा प्रत्यक्ष कारण नभएको र अप्रत्यक्ष कारणबारे विभिन्न पक्षबाट अनुसन्धान भइरहेको रौतहट प्रहरीका एक अनुसन्धान अधिकृतले बताए।
‘यो हत्यामा हामीले विभिन्न पाँच पक्षलाई केलाएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।
अनुसन्धानका पक्षहरूबारे अहिले केही पनि नभन्ने रौतहाट प्रहरीका एक अधिकृतले जनाए ।
स्थानीयले बताए अनुसार उक्त मन्दिर पूजारी आफैले बनाएको र उनी पनि सोही वडाको हुन् ।
उनले दुइ वर्ष अघि आफ्नो अंशमा परेको जग्गा बेचेर ऐलानी जग्गामा मन्दिर स्थापना गरेका थिए।
खेसरहिया र छिमेकी गाउँ करुनियाँबीच केही विवाद भएको थियो भन्ने सुनिए तर विस्तृतमा थाहा नभएको माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्रप्रसाद यादवले बताए ।
मेयर यादवका अनुसार उनले करुनियाँमा केही समयअघि सन्तहरूको भेला भएको र उक्त भेलामा साहलाई मन्दिरबाट हटाउने कुराहरू चलेको सुनेका थिए ।
‘आफ्नो भागमा परेको दुई कठ्ठा जग्गा बेचेर मन्दिर बनाई त्यहीँ बसिरहनु भएको थियो, अचानक हत्या भएको सुन्दा हामी पनि छक्क पर्यौं कि कोहीसँग सरोकार नभएको मान्छेको किन हत्या भयो,’ मेयर यादवले भने।
पूजारी हत्याको अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालयको अनुसन्धान टोली पनि खटिएको छ। हत्याको कारण के थियो भन्ने तथ्यको खोजी भइरहेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए।
श्रीमतीको मृत्युपछि साह सन्त भएका थिए र एक्लै बस्दै आएका थिए । उनको कोही छोराछोरी नभएको स्थानीयले बताएका छन् ।