उदयपुर , ६ भदौ ।
कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्लाका तीन पालिकामा जारी निषेधाज्ञा थप ५ दिनका लागि बढाइएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा सुरक्षा समितिको बैठकले त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
साउन २८ गते राति १२ बजेदेखि भदौ ७ गते रातिसम्म जारी गरिएको निषेधाज्ञालाई थप ५ दिन थपि भदौ १२ गते रातिसम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।
जारी निषेधाज्ञामा बिहान ९ देखि १२ बजेसम्मका लागि खाद्यान्नका पसल खोल्ने र बाँकी समय सम्पूर्ण सेवा ठप्प राख्ने निर्णय भएको छ भने सरकारले सूचीकृत गरेको अत्यावश्यक सेवा मेडिकल, पानी, दूध बोक्ने सवारी साधन भने निरन्तर चल्नेछन् ।
उदयपुरमा अहिलेसम्म १ सय ११ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलेका अनुसार छिमेकी जिल्ला सिरहा, सप्तरी र सुनसरीमा संक्रमित र मृतकको संख्या बढ्दै गएकाले निषेधाज्ञा जारी राख्नुपर्ने अवस्था आएको हो ।