अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफर बीच विश्वभर फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं थप पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहरु बारे आज भिडियो कन्फरेन्स मार्फत छलफल भएको छ ।
अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकवाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध गरेका थिए ।
नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको मन्त्री खतिवडाले बताए ।
उनले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १।६ अरब भन्दा बढी नै रहेको, सरकारको संचित खाता ९ट्रेजरी० घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको जानकारी गराएका थिए ।
विश्व बैकका उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिदै कोभिड १९ को नकारात्मक प्रभावका बावजुद माननीय मन्त्रीज्यूको नेतृत्वमा नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकोमा उच्च प्रशंशा गर्नु भयो। विभिन्न अवरोधका बावजुद नेपालले प्राप्त गरेको सफलता अनुकरणीय उदाहरणको रुपमा वोर्डमा प्रस्तुत गरिने योजना रहेको जानकारी गराएका थिए ।
उक्त छलफलमा विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिश हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोलकोभा लगायत विश्व बैकका अन्य अधिकारीहरु, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपालको समेत उपस्थिति थियो ।